सुर्खेत, १५ असार । मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ । आफ्ना माग सहित विगत १२ दिन देखि रिले अनशनमा बसेका विद्यार्थीलाई शुक्रबार प्रहरीले हस्तक्षेप गरी कुटपिट गर्नुकासाथै पक्राउ गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले विभिन्न माग राखी विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रिले अनशन र धर्ना दिंदै आएका थिए । प्रहरीले विद्यार्थीहरु रामचन्द्र भण्डारी, न्यूटन वली, निकुञ्ज पाण्डे, निर्मल विसी, केशव खड्का र रामपुकार शाहलाई पक्राउ गरेको नेपाल विद्यार्थी संघले जनाएको छ ।
यसैबीच शान्ति पूर्ण आन्दोलनमा भएको प्रहरी हस्तक्षेप, धरपकड, कुटपिट र पक्राउको घटना प्रति नेपाल विद्यार्थी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल विद्यार्थी संघका सहमहान्त्री इश्वर बहादुर विष्ट, केन्द्रीय सदस्य द्वय हरिप्रशाद शर्मा र अनिलबहादुर शाहीले विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
आफ्ना माग सहित शान्तिपूर्ण आन्दोलनमा बसेका विद्यार्थी माथि विश्वविद्यालय पदाधिकारीकै निर्देशनमा प्रहरी हस्तक्षेप भई धरपकड गरी विद्यार्थी पक्राउ गरीएकाे नेपाल विद्यार्थी संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीका जायज माग वार्ता, संवाद, सहकार्य र सहमतिको माध्यमबाट समाधान गर्नुको साटो शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरी दादागिरी शैलीमा विश्वविद्यालयलाई अगाडि बढाउन खोज्नु दुखद कुरा भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीले राखेका जायज माग सम्बोधन गर्नु पर्ने र प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई निशर्त रिहाई गर्न समेत माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार २०:३६