सुर्खेत, १५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताएका छन् ।
कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै अपराधीहरुको कुनै जात र धर्म नहुने हुँदा त्यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण नगर्न उनको आग्रह थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिला हिंसा, घरेलु हिंसा, हत्या जस्ता कुराहरु अपराधको जड हो भन्दै यस्ता कुराहरुलाई नेपाल प्रहरीले जरैदेखी उखेल्न जरुरी रहेको बताए । उनले महिला तथा बालबालिका सेवा केन्द्रमा सेवा लिनका लागि कुनै पनि नागरीकले न्याय पाउछु भन्ने किसीमको वातावरण बनाउन नेपाल प्रहरीलाई आग्रह गरे । अपराधिक क्रियाकलापलाई रोक्नका लागि समाजले पनि साथ र सहयोग गरे अपराध छिटै नियन्त्रणमा आउन सक्ने महानिरीक्षक खनालले बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधिक घटनाहरु मिलापत्र नहुने भन्दै मिलापत्र गर्न खाेज्ने अपराधीलाई कानुनी कठघारामा ल्याउन जरुरी रहेको बताए । उनले मुलुकको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । खनालले अपराध गर्ने रावन प्रवृति भएका अपराधीको अन्त्य गर्नका लागि नेपाल प्रहरी सधैँ सर्तकका साथ अघि बढ्नु पर्ने बताए ।
उद्घाटन कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख धिरु बस्नेत, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।
प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार १६:४१