सुर्खेत, १३ असार । मध्य दिनको चर्को घाम । तर त्यो घामको प्रवाह छैन पदमकुमारी थापालाई । प्रवाह छ त उनलाई कति मकैका घोंगा विक्री भए । उनलाई त्यो विक्री गरेर वचत भएको पैसाले सिंगो परिवारको जीवन चलाउनु छ । वीरेन्द्रनगर नगरपालिका इत्राममा बस्दै आएकी पदम कुमारी थापाको आजभोलिको जीवन मकै पोल्नुमा नै बित्ने गरेको छ । जुन कार्यमा उनको जीवनयापनको बलियो आधार समेत भएको छ ।
मकैको घोंगालाइ नै जीउने आधार बनाएकी छु, उनले भनिन, यो काम गरेर साँझ विहानकाे छाक टार्ने भएकाे छ । भनिन्छ इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण हुन, पदमकुमारी थापा । खुला आकाशमुनि वीरेन्द्रनगरको घन्टाघर छेउमै मकै पोलिरहेकी पदमकुमारी त्यहीबाट जीविकोपार्जन गर्दै आएकी छन् । यो उनको दिनचर्या हो । पदमकुमारीले पाँचजनाको परिवारलाई मकैको घोंगाकै भरमा पाल्ने गरेकी छिन् ।
असारको चर्को घाम नभनी पदमकुमारीले छाताको भरमा आगोको फिलिंगासँग खेल्दै मकै पोलेर बेच्ने गरेकी छिन् । आफ्नो परिवार पाल्ने अरु कुनै उपाए नभएपछि विगत ११ वर्षदेखि मकैको प्रत्येक सिजनमा मकै खरिद गर्ने र सोही मकैलाई पोलेर बचेको पैसाबाट परिवार पाल्ने गरेको पदमकुमारीले बताइन् । अरु कुनै उपाय छैन, यही मकैले जीवन गुजारा गरेकी छु, पदमकुमारीले भनिन, मकै पोल्नलाई पनि कठिन छ ।
उनले भनिन, ‘चर्को गर्मी होस् वा बादल गर्जेर वर्षा भइरहेको अवस्था होस् । काम नगरी जीवन गुजारा गर्न गाह्रो छ ।’ पदमकुमारीले मकै बेचेरै दिनमा पाँच सयदेखि एक हजारसम्म आम्दानी गर्छिन । पदमकुमारीको गुजारा यसैबाट चल्दै आएको छ । उनले एउटा मकैलाई २० रुपैयाँमा बेच्छिन् । मकै पोलेर कमाएको पैसाले छोराछोरीको पढाइदेखि घर खर्चसम्म सम्हाल्दै आएकी छन, उनले । अब त उनका छोरा पनि कमाउन थालिसकेका छन् । छोराले मकै पोल्न छोड्न भन्ने गरेको सुुनाउँदै उनले भनिन, ‘हातखुट्टा भएसम्म गरिआएको काम छोड्दिनँ ।’
उमेरले आधा दशक कट्दा पनि उनमा कर्मप्रतिको लगाव र जाँगर भने उस्तै छ ।
प्रकाशित मिति: १३ असार २०७५, बुधबार १६:२७