सुर्खेत, ५ असार । आइतबारदेखि वीरेन्द्रनगरमा जारी अन्नपूर्ण पोस्ट अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगितामा मंगलबार सम्पन्न भएको छ । ६ वटा खेलमा एकसय २८ जनाको सहभागिता रहेकोमा ११ जना खेलाडी राष्ट्रिय स्तरमा हुने प्रतियोगिताको लागि छनौट हुँदै सम्पन्न भएको हो ।

जिल्ला ब्याडमिन्टन संघको सहजिकरणमा तीनदिनसम्म वीरेन्द्रनगरको प्रहरी ब्यायामशालामा भएको छनोट प्रतियोगितामा कर्णाली प्रदेशभरीका सात वटा जिल्ला दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्ला जिल्लाका खेलाडीहरु सहभागि थिए । सोमबार नै तीनवटा खेलको फाइनल भएको थियो भने, तीन खेलको फाइनल मंगलबार बिहान सम्पन्न भयो । जम्मा १६ जना खेलाडीहरु छनोट हुनुपर्ने भएपनि एउटै खेलाडीले धेरै खेलमा जित हासिल गरेकाले ११ वटा खेलाडी मात्रै छनोट भएका छन् । विजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा सुर्खेतका निराजन चौधरीले पुरुष एकल र १९ वर्षमुनिको एकलमा प्रथम भएका छन् । मंगलबार बिहान भएको पुरुष एकलमा सुर्खेतकै जितबहादुर लामिछानेलाई २१–१७, १९–२१ र २१–१९ को प्रतिस्पर्धात्मक अंकले पराजित गर्दै प्रथम भएका छन् । १९ वर्ष मुनिको प्रतियोगितामा उनले सुर्खेतकै नगेन्द्र बम ठकुरीलाई २१–९ र २१–१७ को सहज जित निकालेका छन् । सातै जिल्लाका खेलाडीलाई पछि पार्दै आफ्नो उत्कृष्टता देखा्रएको भन्दै १८ वर्षिय चौधरीलाई ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष चेत अधिकारीले नगद तीनहजार रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।
यस्तै, सुर्खेतकै सामना भट्टराई पनि दुई खेलमा प्रथम हुँदै आफ्नो उत्कृष्ट प्रदर्शन देखाइन् । १९ वर्षमुनिको महिला एकलमा भट्टराई नै प्रथम भएकी हुन् । मिक्स युगलमा खगेन्द्र खत्री र सेस्मा श्रीपालीको जोडी प्रथम भएको छ । यस्तै पुरुष युगलमा दिपेश चौधरी र युवराज गुरुङ्गको जोडी प्रथम भएको छ । ११ जनामध्ये चार जना महिला र सात जना पुरुष छनोट भएका छन् ।
प्रतियोगितामा सुर्खेत बाहिरका खेलाडीहरुले भने तेस्रो स्थान मात्रै हासिल गर्न सके । तेस्रो स्थान हासिल गर्नेमा पुरुष एकलमा जाजरकोटका जनक भदेल, सुर्खेतका महेश विक्रिम सिंह, पुरुष युगलमा रुकुमका शशिराम रावत र हरि चन्द तथा सुर्खेतका विष्णु पौडेल र कर्ण बुढाको जोडी रहेको छ । यस्तै, महिला एकल तर्फ तेस्रो स्थानमा सुर्खेतकै पुस्पा शाही, १९ वर्षमुनिको महिला एकलमा पुस्पा शाही र सेस्मा श्रीपाली, १९ वर्षमुनिको पुरुष एकलमा सुर्खेतकै सुजित कार्की र अनिल मल्ल भएका छन् ।
प्रकाशित मिति: ५ असार २०७५, मंगलवार १५:४०