काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी ओलीले आपसी हितमा केन्द्रित हुने गरी सरकारले चीन भ्रमणको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा चीन भ्रमणबारे ओलीले ‘ब्रिफिङ’ गरेका हुन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चीन भ्रमणमा हुने द्विपक्षीय छलफलका एजेन्डाबारे जानकारी गराएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । क्रस बोर्डर रेलवे लाइन, क्रस बोर्डर हाइवे, क्रस बोर्डर कनेक्टिभिटी, पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा हस्ताक्षर, मस्र्याङदीका तीन स्थानमा जलविद्युत् आयोजना निर्माण, पस्मिना, ऊनलगायतको निर्यात व्यापारसमेतका विषयमा द्विपक्षीय छलफल गर्ने गरी प्रस्तावको अन्तिम तयारी भइरहेकोबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेको पौडेलले जानकारी दिए । त्यस्तै, तिब्बतको प्रान्तीय सरकारसँगको सम्बन्ध विस्तारलगायतका विषयमा पनि छलफलको तयारी भइरहेको प्रधानमन्त्रीले सुनाएका थिए ।
‘भ्रमणको तयारी राम्रो भएको र त्यसलाई आपसी हितका पक्षमा केन्द्रित गराउने काम भइरहेको जानकारी गराउँदै प्रधानमन्त्रीले भ्रमण सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भ्रमणको तयारी र नेपालका प्रस्तावबारे नेताहरूलाई जानकारी गराएका थिए ।
प्रचण्डले भने एकतासहित जाँदा नेपाल विश्वकै लागि नमुना
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि मुलुकलाई समाजवादतर्फ लैजाने ठूलो सम्भावना देखिएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘पार्टी एकतापछि नेपालमा वामपन्थी आन्दोलनको ठूलो सम्भावनाका बीचमा हामी उभिएका छौँ । त्यसैले, सम्हालिएर अघि बढ्न जरुरी छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामीले जान्याैँ र ठीक ढंगले आन्दोलनलाई अघि बढाएर समाजवादतर्फ अघि बढ्यौँ भने नेपाल विश्वकै लागि वामपन्थी आन्दोलनको नमुना बन्न सक्छ, तर जानिएन भने बिग्रिएर कमजोर पनि बन्न सक्छ ।’
मन्त्री र सांसदबीच समन्वय र अन्तरक्रिया बढाइने
बैठकले जनस्तरमा सरकारको कामको राम्रो प्रभाव परेको निष्कर्ष निकाल्दै मन्त्री र सांसदबीचको समन्वय र अन्तरक्रिया बढाउँदै जानुपर्नेमा जोड दिएको छ । यस्तै, अन्य विषयमा पनि आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरूमा पार्टी पंक्तिलाई परिचालित हुन आह्वान गरेको छ,’ महासचिव पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
१५ दिनभित्र नियमावली पारित गरिने
बैठकमा महासचिव पौडेलले एकतापछि भएका सांगठनिक कामबारे जानकारी गराएका थिए । एकीकरण प्रक्रिया ठीक ढंगले अघि बढेकाले अझ गतिका साथ अघि बढाउन बैठकले जोड दिएको छ । त्यस्तै, महासचिव पौडेल नेतृत्वको कार्यदलले बुझाएको नियमावलीमाथि स्थायी समिति सदस्यहरूले १० दिनभित्र सुझाब दिएपछि १५ दिनभित्र स्थायी कमिटीबाट पारित गर्ने निर्णय भएको छ ।
पुनर्निर्माणमा चिनियाँ सहयोगबारे छलफल
भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणमा यसअघि चीनले जनाएको प्रतिबद्धता कार्यान्वयन र सहयोग रकम लिने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीले बैठकमा जानकारी गराए । चीनले पुनर्निर्माणसँग सम्बन्धित राजधानी काठमाडौंसहित उत्तरी क्षेत्रका २५ परियोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसअन्तर्गत पूर्वाधार पुनर्निर्माण, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण, प्रकोप नियन्त्रण तथा रोकथामका लागि सहयोग, जनस्वास्थ्यका क्षेत्र छन् ।
नयाँ पत्रिका दैनिकबाट
प्रकाशित मिति: ३ असार २०७५, आईतवार ०७:४६