सुर्खेत, ३१ जेठ । नेपाली कांग्रेस सुर्खेतले इन्धनको मूल्य बृद्धिको विरोधमा उत्रिएका नेविसंघका विद्यार्थीमाथि गरेको धरपकडको कडा निन्दा गरेको छ ।
कांग्रेसले विहीवार साँझ पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीहरुमाथि गरेको ज्यादतिको विरोध गर्दै प्रहरीको कार्यको निन्दा गरेको छ ।
विहीवार इन्धनको मूल्य बृद्धिको विरोधमा पुत्ला दहन कार्यक्रम हुँदै गर्दा प्रहरीले विद्यार्थीहरुमाथि लाठीचार्ज गरेको थियो । जसबाट विद्यार्थी नेताहरु अनिलबहादुर शाही घाइते भएका छन् । उनको नर्सिह् होममा उपचार भइरहेको छ ।
यस्तै गौतम विसीको हातमा गम्भिर चोट लागेको छ भने अर्का विद्यार्थी जयन बुढा पनि घाइते भएका छन् । केन्द्रीय सदस्यहरु हरि शर्मालाई जुलुसबाट लाठीचार्ज गर्दै पक्राउ गरेको थियो भने मिलन विसी, मानबहादुर ढकाललाई प्रहरीले पार्टी कार्यालयबाट गिरफ्तार गरेको छ ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले पार्टी कार्यालयभित्रबाटै विद्यार्थी नेताहरुलाई पक्राउ गरिनुले वर्तमान सरकार पंचायती र शाही शासनभन्दा पनि बढी अधिनायकवादी हुन थालेको बताए । उनले प्रहरीको उक्त कार्यको घोर निन्दा गर्दै विद्यार्थीहरुलाई शान्तिपूर्ण रुपमा आन्दोलन जारी राख्न निर्देशन दिए ।
कांग्रेस क्षेत्रीय सभापति नारायण कोइरालाले पार्टी कार्यालयबाटै विद्यार्थीहरुलाई थुतेर कुटपिट गर्दै नियन्त्रणमा लिनुले घोर मानवअधिकार उल्लंघन भएको जनाए । उनले मानवअधिकारको अनुगमन गर्नेहरुलाई पनि अनुगमन गर्न समेत आग्रह गरे ।
प्रहरी शान्ति सुरक्षाका लागि भन्दा पनि विद्यार्थी आन्दोलनलाई दवाउन परिचालन भएका अमुख पार्टीको कार्यकर्ताको भूमिकामा रहेको सुर्खेत कांग्रेसले आरोप लगाएको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहीबार २०:३६