सुर्खेत, २४ जेठ । कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३-७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।
जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०-१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा ७, जुम्ला र मुगुमा ५-५ जना, हुम्लामा ३ र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ । निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले सामाजिक विभेदका कारण कुष्ठरोगका बिरामी खुल्न नसकेको बताएका छन् ।
सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियानकै रुपमै सञ्चालन गरिने भएको हो । जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियानकै रुपमा सञ्चालन गरिने भएको छ ।
जिल्लाका साविकका २० वटा गाविसका स्वास्थ्य चौकीमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । यसका लागि तीनवटा समितिमार्फत घरदैलो अभियान सञ्चालन गरिनेछ ।
यसअन्तर्गत खोजकर्ता टोलीले प्रत्येक घरदैलोमा गएर कुष्ठरोगका लक्षण भएका व्यक्तिको खोजी गर्नेछ भने रोग निदान टोलीले खोजिएका व्यक्तिको रोगको निदान गर्नेछ भने सुपरिवेक्षण टोलीले पूर्णरुपमा निदान गर्नेछ ।
उपचारमा आउन नसकेका कुष्ठरोगका बिरामीलाई खोजी गरी रोगको निदान गरी उपचार पद्धतिमा ल्याउनको लागि अभियान शुरुवात गरिएको हो ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार साविकका बिजौरा, गुटु, बाबियाचौर, सालकोट, छिन्चु, लेकपराजुल, मैनतडा, साटाखानी, गुमी, मेहलकुना, राकम र वीरेन्द्रनगरको लाटीकोइली र कटकुवालगायत २० स्थानमा अभियान सञ्चालन गरिने छ ।
आव २०७३-०७४ मा जिल्लामा ३१ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेको कार्यालयको तथ्यांक रहेको छ । जिल्लाको पूर्वी भागका साविकका छिन्चु, मैनतडा, मेहलकुना र पश्चिमको सालकोटलगायतका गाविसमा बढी बिरामी फेला परेका जनाइएको छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहीबार १४:२२