सुर्खेत, २२ जेठ । एक सय दिन नाघेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको सम्पत्ति विवरण मंगलवार सार्वजनिक भएको छ । मन्त्रीको सपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान भएपनि सय दिन नाघेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोट र कैलालीमा जग्गा रहेको छ । उनीसंग सुन ६ तोला, चाँदी २०० तोला, विभिन्न बैंकहरुमा गरी सात लाख, बहुउद्देश्यीय कम्पनीमा १० लाख नगद रहेको छ । यस्तै उनले एक लाख कुखुरापालन र दुई लाख पाँच हजार तरकारी उत्पादनबाट आर्जन गरेको देखाएका छन् आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको विभिन्न जिल्लाहरुमा जग्गाजमीन प्रशस्त रहेको पाइएको छ । विभिन्न जग्गा रहनुका साथै विभिन्न बैंकहरुमा गरी नगद २७ लाख, सुन तीन तोला, चाँदी १० तोला रहेको छ ।
फाइल फाेटाे
यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको सम्पत्ति विवरण निकै कम रहेको छ । जुम्ला र बाँकेमा बुवाको नाउँमा ७६ हजार बर्गमीटर जग्गा रहेको छभने सुन १५ तोला, चाँदी १० तोला, बैंकमा एक लाख नगद र मोटरसाइकल एउटा, मोबाइल एउटा मात्र रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
सामाजिक विकास मन्त्री दल रावलले श्रीमतीको नाममा बाँके र हुम्लामा घर, सुर्खेतमा २५ लाखमा खरिद गरेको १६ धुर जग्गा, हुम्लामा बुवाका नाममा रहेको ३५ रोपनी जग्गा देखाइएको छ । उनीसंग सुन ५५ तोला, चाँदी १५० तोला जुन विवाहमा आएको जनाइएको छभने श्रीमतीको नाममा विभिन्न बैंकमा गरी करिव २५ लाख नगद रहेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गृह जिल्ला रुकुम, सुर्खेत, दाङमा जग्गा खरिद गरेको देखाएकी छन् । यस्तै धितोपत्रमा १५ लाख रहेको छ । सुन चाँदीको विवरण उनले उल्लेख गरेकी छैनन् ।
भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीसंग पनि प्रशस्त सम्पत्ति रहेको विवरणमा उल्लेख छभने तिर्नुपर्ने रकम पनि उनीसंग बढी रहेको छ । मन्त्री खत्रीले श्रीमतीको नामबाट सुर्खेतको रामघाट, कैलाली, रानीबास, वीरेन्द्रनगर, छिन्चु, कोहलपुर, नेपालगन्ज, खजुरा, काठमाडौं, भक्तपुरमा विगाह, रोपनी जग्गारहेको देखाएका छन् । उनीसंग २१ तोला सुन र एक किलो चाँदी दाइजोबाट प्राप्त भएको उल्लेख गरेका छन् । १० वटा बैंक तथा सहकारीमा गरी उनीसंग ७५ लाख नगद रहेको छभने करिव १५ करोड मूल्य बराबरको शेयर कित्ता रहेको छ । उनले विभिन्न बैंकहरुमा गरी झण्डै १० करोड बढी ऋण रहेको छ ।
उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री नन्द सिंह बुढाले पनि गृह जिल्ला डोल्पामा बुवा र श्रीमतीको नाममा केही रोपनी जग्गा रहेको उल्लेख छ । १५ तोला सुन र एक किलो चाँदी उनीसंग रहेको छभने बैंकमा नगद नरहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता नवराज बरालले मन्त्रीहरुले ६० दिनभित्र आ आफ्नो सम्पत्ति विवरण बुझाइसकेपनि कार्यालयले वेवसाइट बनाउन ढिला गरेका कारण सार्वजनिक गर्न ढिलाइ भएको बताए ।
प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार १९:३९