काठमाडौं, २१ जेठ । पुनर्निर्माणका क्रममा स्थानीय स्तरमा देखिएका विभिन्न समस्याबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिका महासंघका प्रतिनिधिहरुबीच सोमबार छलफल भएको छ । प्राधिकरण सभाहलमा भएको छलफलमा महासंघका पदाधिकारीहरुले पुनर्निर्माणका क्रममा स्थानीय तहहरुमा देखिएका विभिन्न समस्याहरु राखेका थिए ।
गाउँपालिका महासंघका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भूकम्प प्रभावितले पाउने भनिएको धितो जमानी वा सामूहिक जमानी एवं सहुलियतपूर्ण ऋण पाउन कठीन भएको बताए । उनले सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीमा रहेका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रियालाई अझ तीव्र पार्न पनि प्राधिकरणलाई आग्रह गरे ।
त्यस्तै, महासंघकै महासचिव एवं इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले संघीयतापछि जिल्ला कार्यालय खारेज गर्ने निर्णय भएकोमा जिल्ला सदरमुकाममा १९ वटा नयाँ भवनहरु बनिरहेको जानकारी गराउनु हुँदै टेण्डर भए पनि काम शुरु नभएका भवनहरुको निर्माण स्थगित गरी तिनलाई स्थानीय तहमा सार्ने प्रक्रिया मिलाउन प्राधिकरणलाई आग्रह गरे ।
महासंघकी केन्द्रीय सदस्य एवं सिन्धुलीको सुनकोशी गाउँपालिका उपाध्यक्ष दीपा बोहराले बैंकमा अनुदान रकम पुगे पनि लाभग्राहीलाई समयमै उपलब्ध गराउन ढिलाइ हुने गरेको उल्लेख गरिन् ।
त्यस्तै, सिन्धुलीकै फिक्कल गाउँपालिका उपाध्यक्ष एवं महासंघ प्रदेश नम्बर ३ सदस्य पार्वती सुनुवारले विभिन्न स्थानमा स्कूल निर्माणमा ठेकेदारहरुले समयमै काम नगरेकोले त्यसको अनुगमनलाई चुस्त बनाउन आग्रह गरिन् ।
छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले गाउँपालिका महासंघका पदाधिकारीले उठाएका विषयका बारेमा तथा प्राधिकरणद्वारा भएका पछिल्ला नीतिगत निर्णयहरुका बारेमा जानकारी गराए ।
पुनर्निर्माणमा स्थानीय जनप्रतिनिधिहरुको अगुवाईलाई प्राधिकरणले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जनप्रतिनिधिहरुबाट प्राप्त भएका सुझावलाई मध्यनजर गरेर काम गर्न प्राधिकरण तत्पर रहेको पनि बताए ।
छलफलमा प्राधिकरणका सहसचिवद्वय राजुमान मानन्धर र प्रकाश थापा, सहसचिव एवं प्राधिकरणका प्रवक्ता कृष्ण प्रसाद दवाडी, सहप्रवक्ता मनोहर घिमिरेको पनि उपस्थिति थियो ।
प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार २०:३१