सुर्खेत, २० जेठ । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्राविधिक शिक्षाको आवश्यकता कर्णाली प्रदेशमा अझ बढेको बताएका छन् ।
निजी प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बोल्दै प्रदेश प्रमुख खनालले बेरोजगारी घटाउने र युवाहरुलाई विदेश पलायनबाट रोक्ने मुख्य आधार प्राविधिक शिक्षा नै भएको दावी गर्दै अव यसलाई विविधिकरण गर्न जरुरी रहेको उल्लेख गरे । कर्णाली प्रदेशमा व्यवसायीमूलक शिक्षाको खाँचो रहेको उनको भनाइ छ ।
कृषि पेशालाई आधुनिकीकरण गर्न र विदेश पलायनबाट युवाहरुलाई रोक्न प्राविधिक शिक्षामै जोड दिनुपर्ने प्रदेश प्रमुख खनालले बताए ।
महासंघका कर्णाली प्रदेश अध्यक्ष धर्मराज गिरीले निजी प्राविधिक शिक्षालयहरुले गाउँगाउँमा रोजगारी सिर्जना गरी बेरोजगारीको प्रतिशत घटाएको दावी गरे । उनले कर्णाली प्रदेशजस्तो विकट र अशिक्षित ठाउँमा प्राविधिक शिक्षाको माग र महत्व बढेको भन्दै राज्यले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
सिटिईभीटीका क्षेत्रीय निर्देशक यादव सुवेदीले प्राविधिक शिक्षाका कारण मुलुकमा अहिले बेरोजगारीको संख्या कम हुँदै गएको दावी गरे । उनले मुलुकको धेरै ठाउँमा प्राविधिक शिक्षाको पहुँच पुर्याउने लक्ष्य रहेको जानकारी दिदैं देशको आवश्यकता र माग अनुसार दक्ष जनशक्ति उत्पादन भइरहेको बताए ।
अधिवेशनमा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष अरुण पाण्डे, केन्द्रीय सदस्य त्रिलोचन पौडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, भेरी प्राविधिक शिक्षालयका सहप्राचार्य पारस खड्कालगायतले रोजगारी उत्पादनमा प्राविधिक शिक्षालयहरुले गहन भूमिका खेलेको प्रष्ट पारेका थिए ।
यसैवीच सुर्खेतका धर्मराज गिरीको अध्यक्षतामा ७ सदस्यीय निजी प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेश समिति गठन भएको छ । उपाध्यक्ष उपेन्द्रबहादुर खड्का, सचिव मातृकाप्रसाद रिजाल, कोषाध्यक्ष अशोककुमार सिंह र सदस्यहरुमा हिक्मत वली, राजेन्द्र शर्मा र कृष्णप्रसाद ढकाल रहेका छन् ।
प्रकाशित मिति: २० जेष्ठ २०७५, आईतवार ०७:३८