सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता वीरेन्द्रनगरमा शनिबारबाट सुरु भएको छ । तिन दिन सम्म चल्ने प्रतियोगितामा कर्णाली प्रदेशका दश जिल्लाको सहभागिता रहने आयोजकले जनाएको छ ।

रनिङ्ग शिल्डको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने बताएका छन् । अहिलेकै बजेटमा सरकारले अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि बजेट विनियोजन भएको उनले बताए ।
‘पछिल्लो समय युवा र विद्यार्थीहरु खेलकुद क्षेत्रमा बढ्दो आकर्षण छ ।’ शाहीले भने, ‘अभ्यास र प्रतियोगिता गर्न खेलमैदानको अभाव छ, त्यसका लागि प्रदेशको राजधानी सुर्खेतमा अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण हुन्छ ।’
प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नाम लेखाउने खेलाडी समेत उत्पादन भएको बताउँदै अव कर्णालीको पहिचान खेल संग जोडिएका यसको विकास गर्न आवश्यक रहेको बताए ।
यस अघि मध्यपश्चिमाञ्ल क्षेत्र स्तरिय हुदैँ आएको प्रतियोगिता पहिलो पटक प्रदेश स्तरिय हुन लागेको खेल समितिका संयोजक शान्ति सिंहले जानकारी दिईन् ।

प्रतियोगितामा कर्णालीका दश जिल्ला (सुर्खेत, दैलेख, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, पश्चिम रुकुम, सल्यान, र डोल्पा) का गरी ८ सय ४० जना उत्कृष्ठ खेलाडी सहभागि हुने भएका छन् । माध्यामिक विद्यालय तहका छात्रा छात्रले भलिवल, कबड्डी, एथ्लेटीक्स, कराँते, तेकवान्दो, उसु लगाएतका विभिन्न ६ खेल गरी एक विद्यालयले ८४ जना विद्यार्थी सहभागि गराउने छ । खेलाडीले स्वर्ण, रजत र कास्य गरी जम्मा ३०४ पदकको लागि प्रतिष्पर्धा गर्ने छन् ।
खेलमा प्रथम हुने जिल्लाले नगद २० हजार सहित शिल्ड प्राप्त गर्ने छन् भने द्वितिय स्थान प्राप्त गर्ने जिल्लाले नगद १५ हजार सहित कप पाउने छन् ।
त्यस्तै, तृतिय स्थान प्राप्त गर्ने जिल्लाले नगद दश हजार सहित पुरुस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताबाट छनौट भएका १०२ जना खेलाडीहरु काठमाडौँमा हुने राष्ट्रव्यापि संघस्तरिय दशौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि हुने बताइएको छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १७:१०