सुर्खेत, १७ जेठ । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले ठुला जलविद्युत आयोजना निर्माण नहुन्जेल सम्मका लागि कर्णाली प्रदेशमा विद्युतीकरणको एकमात्र विकल्प वैकल्पिक उर्जा रहेको वताएका छन् । वीरेन्द्रनगरमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रद्धारा बिहीबार आयोजित नवीकरणीय उर्जा प्रवर्द्धनमा प्रदेश सरकारको भुमिका सम्बन्धि कार्याशाला गोष्ठीलाई सम्वोधन गर्दै राष्ट्रिय विद्युत प्रशारण लाईन नपुगेको कर्णालीमा वैकल्पिक उर्जाको विशेष कार्यक्रम संचालन गर्न केन्द्रलाई आग्रह गरे ।
मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा तत्काल विद्युतिकरणको आवश्यकता पुरा गर्न वैकल्पिक उर्जाका सवै कार्यक्रम कर्णालीमा केन्द्रीत गर्नुहोस ।‘ उनले वैकल्पिक उर्जाको प्रयोग मार्फत खानेपानी, सिंचाई र विद्युतीकरणका समस्या हल गर्न र उत्पादको वृद्धि गर्न समेत सकिने वताए ।
कर्णाली प्रदेशमा वैकल्पिक उर्जाको प्रयोग मार्फत जनताको समस्या हल गर्नका लागि प्रदेश सरकार समेत लगानी गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले गुणस्तरीय र दिगो रुपमा काम गर्न वैकल्पिक उर्जालाई आग्रह गरे ।
मुख्यमन्त्री शाहीले प्रदेश राजधानी सुर्खेतमा तत्काल १ मेगावाटको सोलार प्लान्ट निर्माण गर्न पनि वैकल्पी उर्जा प्रवर्द्धन केन्द्रलाई आग्रह गरे । उनले प्रदेश राजधानीमा विद्युत आपुर्तिमा भएको समस्याका कारण प्रदेश सरकारको कार्यसम्पादनमा पनि समस्या पैदा भएको बताउँदै प्रदेश सभा र मन्त्रालयहरुमा तत्काल सौर्य विद्युत प्रणालीको स्थापना गरि समस्या सामाधान गर्न आग्रह गरे ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, नेपाली काग्रेस संसदीय दलका नेता जीवनवहादुर शाही, पुर्वमन्त्री एवं संसद यमलाल कँडेल र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल लगायतले आ-आफनो धारणा राखेका थिए ।
प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहीबार २०:४९