सुर्खेत, १४ जेठ । वीरेन्द्रनगरकै सवैभन्दा बढी व्यस्त हुने थकाली रेष्टुरेन्टले विद्युत आएपनि दुई वटा ठूला जेनेरटर चलाइरहन्छ । विद्युतको भोल्टेज नपुगेपछि रेष्टुरेन्टले आलोपालो गरी दुई वटा जेनेरेटर विहान करिव ८ बजेदेखि राती १० बजेसम्म चलाइरहन्छ । रेष्टुरेन्टर संचालक बचन शेरचनका अनुसार जेनेरेटनरमा एक घन्टामा दुई लिटर डिजेल खर्च हुन्छ ।
हिजोआज विद्युतको लो भोल्टेज हुँदा डिजेलमा पनि खर्च बढेको उनी बताउँछन् । दैनिक दुई हजार रुपैयाँ डिजलमा खर्च हुने गरेको छ । लोडसेडिङ हटेको हौवा फिंजाइएपनि बारम्बार पटेक लोडसेडिङ भइरहनु र आएको विद्युत पनि लो भोल्टेजमा हुनुले होटल व्यवसायमा प्रत्यक्ष असर परेको शेरचनले बताए । विद्युत आएपनि दिनभर जेनेरेटर चलाउने बाध्यताले खर्च बढेको गुनासो उनको छ । लो भोल्टेजले फ्रिज, पंखा पनि नचल्ने हुँदा जेनेरेटर चलाउनुपरेको शेरचनले बताए । उनका अनुसार वीरेन्द्रनगरका होटलको अवस्था पनि यस्तै छ ।
लो भोल्टेजले होटल व्यवसायमात्र होइन ग्रील उद्योगहरु पनि ठप्प छन् । काम नै गर्न नमिल्ने भोल्टेजले गर्दा समस्यामाथि समस्या थपिएको ग्रील उद्योगीहरु बताउँछन् । विद्युत त छ, तर काम गर्न नमिल्ने छ, न्यू भेरी इन्जिनियरिङ वक्र्सका संचालक डम्बर बस्याल भन्छन् । कामै गर्न नमिल्ने भोल्टेजको विद्युत दिएर के गर्ने ? काम गर्न नमिल्दा अर्डर अनुसारको काम पूरा गर्न नसकिएको, मजदुरहरुको ज्याला कसरी दिने भनी उनले चिन्ता व्यक्त गरे । लो भोल्टेजले विद्युत दिएर नागरिकलाई लोडसेडिङ हटेको नाटक गरिएको आरोप उनको छ । सुर्खेतमा करिव तीन दर्जन जति ग्रील उद्योगहरु छन् । लो भोल्टेजका कारण ती उद्योगहरुमा पनि काम ठप्प छ । उद्योग खोलेपनि काम गर्न नपाइँदा कामको चाप बढेको संचालकहरु बताउँछन् ।
लो भोल्टेजको समस्या त छदैंछ, अर्कोतिर वीरेन्द्रनगरमा हुने पटके लोडसेडिङले थप आक्रान्त बनाएको छ । लोडसेडिङ मुक्त गरिएको भनिएको जेठ १ गतेदेखि वीरेन्द्रनगरमा विद्युत आपूर्ति सहज हुन सकेको छैन । दिउँसोको साथै राती पनि घन्टौं पटके लोडसेडिङले सर्वसाधारणहरु मर्कामा परेका छन् । गर्मीको समयमा हुने यस्ता पटके लोडसेडिङले थप गर्मी बढाएको छ । उद्योगी व्यवसायीहरुको व्यवसाय नै चौपट्ट भइरहेको बेला उद्योग बाणिज्य संघ भने मौन बसेको छ । व्यवसायीहरुका समस्या समाधान गर्ने भनिएपनि लो भोल्टेजको असरवारे एक शव्द कहिंकतै बोलेको छैन । न त कतै डेलिगेशन न अन्तरक्रिया नै गरेको छ । ठूला व्यवसायीका लागि मात्रै संघ भएको आरोप साना व्यवसायीहरुले लगाउने गरेका छन् ।
यता विद्युत प्राधिकरणले भने सुर्खेतमा कोहलपुरबाट कम भोल्टेजकै विद्युत आएकोले आफूहरुले केही गर्न नसक्ने बताउँछन । प्राधिकरण सुर्खेत वितरण केन्द्रका इन्जिनियर बिजेश रंजितले जति विद्युत आएको छ, सवै वितरण भएको छ, लो भोल्टेजलाई केही गर्न नसक्ने बताउँछन् । सुर्खेतमा ३३ केभीए विद्युत आउनुपर्नेमा अहिले २३ केभीएमात्रै आएको भन्दै उनले जसका कारण समस्या थपिएको उल्लेख गरे । लो भोल्टेजले समस्याहरु आएपनि आफूहरुले केही गर्न नसक्ने प्राधिकरणले जनाएको छ ।
यसैगरी पुरानो र जीर्ण विद्युत लाइनले गर्दा पनि सुर्खेतमा सहज आपूर्ति हुन सकेको छैन । हावाहुरी र पानीले पोल ढाल्ने, तार चुँडिने र ट्रान्सफर्मरहरु पड्कने समस्या भएकोले काम गर्नका लागि वीचवीचमा अवरुद्ध हुने गरेको भन्दै इन्जिनियर रंजितले यो काम सकिना साथ आपूर्ति सहज हुने विश्वास व्यक्त गरे । सुर्खेतमा पछिल्लो समय विद्युतको मग बढ्दो छ । प्राधिकरणका अनुसार सुर्खेतमा अहिले विद्युतको माग ६ मेगावाटभन्दा बढी छ तर आपूर्ति भने मुश्किलले तीन चार मेगावाट हुने गरेको छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार १४:५६