सुर्खेत, १० जेठ । बर्दियामा भैरहेको प्रथम दमौली महिला कप फुटबल प्रतियोगितामा सहभागी हुन सुर्खेती महिला खेलाडीहरुको टोली आज बर्दिया प्रस्थान गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, फुटबल संघका उपाध्यक्ष चन्द्र श्रेष्ठ, प्रभात थापा, महासचिव गणेशकुमार कार्कीसहितको टोलीले खेलाडीहरुलाई विदाई गरेको हो ।
कार्यक्रममा समितिका अध्यक्ष गिरीले फुटबल खेल मात्र नभई प्रतिष्ठाको समेत विषय भएको उल्लेख गर्दै सुर्खेत र सुर्खेतीको प्रतिष्ठा बढाएर आउन शुभकामना दिए ।
सिंगो कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै महिला टोली बर्दिया जान लागेको बताउँदै उहाँले खेलकुदका लागि कर्णाली उर्वर भूमि भएको जिकिर गरे ।
थुप्रै खेलका राष्टिय अन्तर्राष्टिय खेलाडीहरु कर्णालीबाट उदय भएको स्मरण गर्दै अध्यक्ष गिरीले खेल क्षेत्रले कर्णालीको गौरव र इज्जत बढाउने विश्वास व्यक्त गरे ।
यस्तै, संघका महासचिव कार्कीले उपाधिसंगै बर्दियाली जनताको मन जितेर आउन शुभकामना दिंदै खेलभावना संग संगै अनुशासन र मर्यादाको पनि ख्याल राख्न सुझाव दिए ।
सुर्खेती खेलाडीले उत्कृष्ट खेलसंगै उत्कृष्ट खेलभावना र अनुशासनपनि प्रदर्शन गरेको भनेर सुन्न पाइयोस । महासचिव कार्कीले भने, खेल र अनुशासन खेलाडीका लागि दुबै उत्तिकै महत्वपूर्ण पक्ष हुन् ।
१६ जना खेलाडी र २ जना अफिसियलसहित १८ जनालाई बर्दिया जान आउनका लागि आर्थिक सहयोग नेपाल निर्माण व्यवसायी एकता समाज र खेलकुद विकास समितिले जर्सी सहयोग गरेका छन् ।
सुर्खेतसहित दाङ, बाँके, बर्दिया र दैलेखका गरी ७ टिमको सहभागिता रहने प्रतियोगिता जेठ १० देखि १५ गतेसम्म बर्दियाको बाँसगढी नगरपालिका ६ दमौलीमा हुने भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनल पुग्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
भोलिको आप्mनो पहिलो खेल बाँकेसंग खेल्न लागेको सुर्खेतले पहिलो खेल जिते सोझै सेमिफाइनलमा ठाउँ बनाउनेछ ।
प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहीबार १६:५१