काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसले योजना र कार्यक्रम विनाको सपना बाँडेर कर्मकाण्डी काम गर्ने छुट नरहेको भन्दै सरकारलाई आफ्ना निति र कार्यक्रममा स्पष्ट हुन सुझाव दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम छ्यासमिसे र हावादारी भएको टिप्पणी गरेका हुन् । उनले अहिले सासन चलाउने मौका मिलेकाले सरकारलाई शासन चलाउने विषय हल्का रुपमा नलिई छ्यासमिसे र हावादारी कुरा नगर्न चेतावनी पनि दिए ।
सरकारको नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलनका उपलब्धिहरुलाई नजरअन्दाज गर्दे सपना बाड्ने मात्रै काम भएको आरोप उनले लगाए । उनले भने, “खै त सरकारले गर्ने आगामी बर्षको कार्यक्रम ? अर्को बर्ष यस सम्मानित सदन फेरी बस्दा के को आधारमा मुल्यांकन गर्ने ? जवाफदेहीताको कसी र मापदण्ड के हो ? एक बर्षमा यति गर्ने छु भनेर लेखिएको कहीँ पाईएको छैन । यहाँ लक्ष छ तर स्पष्ट संग लेखिएको कार्यक्रम छैन । योजना र कार्यक्रमविनाको सपना केबल मनोकामना मात्रै हो । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन ।”
आफुलाई बलियो मान्ने सरकारले आर्थिक, सामाजिक सुधारका लागि ठुला ठुला जोखिम मोल्नुपर्ने भएपनि त्यसको संकेत नीति तथा कार्यक्रममा नआएको भन्दै उनले दिशाहिन र छरपस्ट सिद्धान्त र नीतिको पोकोले वर्तमान अवस्थामा देशले चाहेको वृहत लगानी र व्यापक रोजगारी श्रृजना गर्ने कुरा दिवा सपनामा मात्रै सिमित हुने टिप्पणी गरे ।
नीति तथा कार्यक्रममा सरकारको श्रृजना, सिलसिला र दुरदृष्टि नदेखिएको भन्दै उनले ऐतिहासिक अवसर त्यसै खेर जाने हो कि भन्ने चिन्ता आफुहरुमा रहेको बताउनुभयो । संघीयतालाई सफल रुपमा कार्यान्वय गरि सिंहदरबारको अधिकार गाउँ गाउँ सम्म पुर्याई जनतालाई शसक्त र सम्पन्न गराउनु वर्तमान आवश्यकता भएपनि सरकारको नीति तथा कार्यक्रममा संघीयताको कानुनी र प्रशासनिक संरचनालाई मात्रै क्रियाशिल बनाउने बाहेक स्थाीय सरकारलाई बलियो बनाउने योजना नरहेको दाबी गरे । उनले प्रदेश र स्थानीय तहलाई निष्प्रभावि बनाउने कुरा कांग्रेसलाई मान्य नहुने चेतावनी दिए ।
नीति तथा कार्यक्रममा सरकारले तोकेको लक्ष पुरा हुने विश्वसनिय आधार नभएको भन्दै उनले शासन संचालन गर्ने विषयलाई हल्कारुपमा नलिन सचेत गराए । फरक प्रसंगमा उनले नेपाली जनता सबै राष्ट्रवादी भएकोले राष्ट्रवादको पाठ पठाउन आवश्यक नरहेको टिप्पणी गरे ।
आफुले ऐतिहासिक निर्वाचन सम्पन्न गराई नेपालको संविधानलाई सफल कार्यान्वयन र राजनीतिक स्थिरतामा मुलुकलाई पुर्याएको भन्दै उनले सरकारले मुलुकको अनुकुल अवस्थालाई सदुपयोग गर्न नसकेको बताए ।
२०४६ सालको राजनीतिक परिर्वतनपछि बनेको नेपाली कांग्रेसको सरकारले आर्थिक क्षेत्रमा शाहसिक र दुरगामी असर पार्ने क्रान्तिकारी काम गरेको भन्दै उनले अर्थतन्त्रमा व्यापक संरचनात्मक सुधार गरी उदारवाद अर्थतन्त्रको जग बसाल्ने श्रेय पनि कांगे्रसलाई नै रहेको बताए ।
तात्कालिन समयमा कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणको अभियान गाउ गाउ सम्म पुर्याएको र त्यही कारणले गर्दा शसस्त्र द्धन्द र राजनीतिक अस्थिरताकाबीच पनि यो अवधिमा मुलुकमा आर्थिक क्षेत्रमा ठुला उपलब्धि हासिल भएको दाबी उनले गरे ।
प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार १४:१८