जुम्ला, ६ जेठ । एकातिर मुलुकका दुई ठूला कम्यूनिष्ट पार्टी बीच एकताको तयारी, अर्कोतिर निर्वाचन पश्चात कर्णाली प्रदेशको जुम्लाको सिंजा क्षेत्रमा नेपाली कांग्रेसको आमसभाको तयारी । राजनीतिक परिवर्तनको घटनाक्रममा यो एउटा संयोग मान्नुपर्छ ।
नेपाली भाषाको उद्गम् स्थल जुम्लाको सिंजा क्षेत्रमा आयोजना गरिएको आमसभामा सर्वसाधारणको उत्साहजनक उस्थिति र राजनीतिक घटनाक्रमको यो संयोग कांग्रेसलाई थप उर्जा प्रदान गर्ने ऐतिहासिक दिनको रुपमा चित्रित हुन पुगेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकताले नेपाली कांग्रेस प्रतिस्प्रधि नभई सहयोगीको हैसियत हुने दावी भइरहेका वेला नेपाली कांग्रेस जुम्लाद्वारा जेठ ३ गते नराकोटमा आयोजित आमसभामा देखिएको उपस्थितिले भने दुई कम्यूनिष्ट पार्टी बीचको एकतालाई चुनौती दिंदै थियो ।
यस ऐतिहासिक सभालाई सम्बोधन गर्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कम्यूनिष्टहरुको एकताले उनीहरुले लिएको विचारको विर्सजन गरेको दावी गरे भने जुम्लाको आमसभाले कांग्रेस कार्यकर्तामा उर्जा थपेको बताए ।
नेपाली कांग्रेसलाई पुनर्जीवन दिने अठोटकासाथ कर्णाली प्रदेशबाट अभियान सुरु गरेका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको सिद्धान्तको विजयी भएको दावी गरे । हिमाल, पहाड तराई बीच एकता गरी विखण्डन हुन लागेको देशलाई नेपाली कांग्रेसले नै जोगाएको उनको दावी थियो ।
कांग्रेस वरिष्ठ नेता पौडेलले सिंजामा उभिएर नेपाली कांग्रेसलाई नवजीवन दिन आग्रह समेत गरे । उनले नोपली कांग्रेसले समाजवाद चरितार्थ हुने परिस्थितिको निर्माण गर्नुकासाथै सम्पूर्ण जनतालाई मालिक बनाउने एउटा टुङ्गोमा पुर्याएको बताए ।
कांग्रेस वरिष्ठ नेता पौडेलले नेपालमा सबैभन्दा विकट क्षेत्रबाट विकास अभियान चलाउने र उन्नतिको जगबसाल्न आफुले चाहेको दावी समेत गरे । उनले नेपाली कांग्रेसको सिद्धान्त र आदर्शमा उभिएर जनताको बीचमा जाने कर्मशील कांग्रेस बनाउने अभियान कर्णालीबाटै सुरु गरेको गरेको बताए ।
कांग्रेसलाई नवजीवनको सन्देश दिने अभियान अन्तर्गत कांग्रेस वरिष्ठ नेता पौडेलले कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर, दैलेखको सदरमुकाम, दुल्लु र राकम कर्णाली, कालीकोट सदरमुकाम मान्म, जुम्लाको सदरमुकाम र सिंजा क्षेको नराकोटका साथै मुगुको सदरमुकाम गमगढीमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिवाद, वाद र संवादको माध्यमद्वारा कांग्रेसलाई एकतावद्ध बनाउनु पर्ने बताएका थिए भने ती कार्यक्रमहरुमा उपस्थित कांग्रेस नेता तथा कार्यकर्ताले आपसी तिक्तताको अन्त्य नै पहिलो शर्त भएको बताएका थिए ।
कांग्रेसलाई नवजीवनको सन्देश दिने अभियान वरिष्ठ नेता पौडेलसंगै जुम्लाको सिंजा पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सच्चा कांग्रेस हेर्न गाउँमा पुग्नु पर्ने विपिको भनाई सिंजामा चरितार्थ भएको बताए ।
कांग्रेस वरिष्ठ नेता पौडेलको अभियानकासाथमा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, दैलेखका सभापति कृष्ण विसी, कालीकोटका सभापति हर्ष वम, जुम्लाका सभापति दीपबहादुर शाही, मुगुका सभापति खड्गबहादुर शाही, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति रन्जित कर्ण, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस सुर्खेतका क्षेत्रीय सभापति नारायणकुमार कोइराला, नेपाल विद्यार्थी संघका सहमहामन्त्री इश्वर बहादुर विष्ट, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खडक विसी लगायतले विभिन्न स्थानमा आयोजना गरिएको आमसभा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी भित्रको आन्तरिक विवाद अन्त्यले मात्रै पार्टीले नवजीवन पाउने धारणा व्यक्त गरेका थिए ।
भिडियो
प्रकाशित मिति: ६ जेष्ठ २०७५, आईतवार १७:५१