सुर्खेत, ५ जेठ। संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकूल बास्कोटाले समाजमा देखिएका विसंगति र बेथितिका विरुद्ध संचारमाध्यमहरु लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले समाज विकासको मूल आधार संचारमाध्यम भएकोले समाजभित्र रहेका बेथिति, विसंगतिका विरुद्ध अव संचारमाध्यमहरुले आवाज बुलन्द पार्ने बेला आएको उल्लेख गर्नुभयो ।
शनिवार सुर्खेतमा भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कर्णाली प्रदेशको प्रथम साधारणसभा एवं रेडियो सम्मेलनमा बोल्दै संचार राज्यमन्त्री बास्कोटाले प्रेस स्वतन्त्रतालाई सधैं सम्मान गरिने बताउनुभयो । सामुदायिक रेडियोहरु अहिले मानिसको सवैभन्दा नजिकको साथी भएको उल्लेख गर्दै राज्यमन्त्री बास्कोटाले रेडियोहरुको बर्गीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोच, संस्कार र समृद्धिका लागि संचारमाध्यमको भूमिका ठूलो हुने बताउनुभयो । उहाँले सामाजिक विकृति र विसंगतिका विरुद्धमा संचारमाध्यमहरुले कडा प्रहार गर्न डराउन नहुने उल्लेख गर्नुभयो । संचारबाट कोहीपनि नागरिक बञ्चित हुनुहुँदैन भन्ने प्रदेश सरकारको मान्यता रहेकोले त्यसको श्रीवृद्धिका लागि क्षमता अनुसारको सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।
सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष सुवास खतिवडाले रेडियोहरुले समाज परिवर्तनका साथै सामाजिक पहरेदारीको जिम्मेवारी पनि निभाएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशमा देखिएका विभिन्न विसंगति हटाउने कार्यमा पनि पहल गर्न सकिने बताउनुभयो ।
संघका कर्णाली प्रदेश अध्यक्ष रमेश गौतमको अध्यक्षतमा भएको कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, उद्योग पर्यटन तथा वन वातावरणमन्त्री नन्द सिंह बुढा, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार १८:५४