५ जेठ। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो खेल खेलेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव छाड्न सफल भएका छन् । आईपीएल इतिहासकै सफलमध्येको एक टीम चेन्नाइ सुपर किङ्स र त्यसका विश्व चर्चित ब्याट्सम्यानविरुद्ध उत्कृष्ठ बलिङ गर्दै सन्दीपले प्रसंशा बटुलेका हुन् ।
उनले आफ्नो ४ ओभरको स्पेलमा १० बल डट राख्दै २१ रन खर्चिएर ‘मिस्टर आईपीएल’ भनिने अनुभवी खेलाडी सुरेश रैनालाई पेबेलियनको बाटो देखाएका दिए ।
दिल्लीका कप्तान श्रेयस अय्यरले उनलाई दोस्रो ओभर (पावर प्ले)मै बलिङ थमाए । सन्दीप बलिङका लागि आउँदा विश्वकै उत्कृष्टमध्येका एक अलराउण्डर (विश्वकप विजेता) शेन वाटसन र यस सिजन आईपीएलमा अरेन्ज क्याप (सर्वाधिक रन जोड्ने) का प्रवल दाबेदार अम्बाती रायडू क्रिजमा थिए । वाटसन र रायडू दुवैले जारी सिजनको आईपीयलमा शतक प्रहार गरिसकेका छन् ।
आफ्नो स्पेलको पहिलो ओभरमा ६ वटै बल वाटसनसामु फालेका सन्दीपले मात्र २ रन खर्चिए । सन्दीपको गुग्ली र लेग स्पिन पढ्न वाटसनलाई निकै मुस्किल पर्यो ।
त्यसपछि ११औं ओभरमा सन्दीपले आफ्नो दोस्रो ओभर फाल्ने मौका पाए । त्यतिबेला उनका सामु भारतीय क्रिकेट टीमका विश्वविजेता कप्तान महेन्द्रसिंह धोनी र आईपीएल इतिहासकै सर्वाधिक खेल खेल्ने र सफल खेलाडी सुरेश रैना थिए, जसलाई स्टार स्पोर्टस्का हिन्दी कमेन्टेटरहरूले पटक–पटक मिस्टर आईपीएलको उपमा दिएर सम्बोधन गरिरहेका थिए ।
दुई निकै अनुभवी र विस्फोटक ब्याट्सम्यानसामु सन्दीपको बलिङ निकै उत्कृष्ट रह्यो । रनिङ विटविन द विकेटमा पनि आईपीएलकै सर्वाधिक अब्बल यो जोडीले प्रत्येक बलमा १–१ रन लिन सफल भए पनि खुलेर खेल्न सकेनन् । यसले सन्दीपको मनोबल बढाउने काम गर्यो ।
त्यसपछि सन्दीपको बलिङ गर्ने पालो आयो १४औं ओभरमा । त्यतिबेला पनि रैना र धोनी नै क्रिजमा थिए । क्रिजमा केही समय बिताइसकेका यी दुई ब्याट्सम्यान कुनै पनि बेला आक्रामक बन्न सक्ने खतरा थियो । स्ट्राइकमा थिए रैना । लामिछानेले पहिलो बल नै गुग्ली फाले । रैनाले त्यसलाई मिड विकेटको दिशामा प्रहार गरे । तर बलले बाउन्ड्री पार गर्न सकेन, विजय शंकरले क्याच गरेपछि रैना पेबेलिन फर्किन बाध्य भए ।
रैनालाई आउट गरेपछि कमेन्ट्री गरिरहेका भारतका पूर्वक्रिकेटर आकाश चोपडाले लामिछानेको प्रसंशा मात्रै गरेनन्, नेपाली क्रिकेटको भविष्य यस्तै प्रतिभावान खेलाडीका कारण उज्वल रहेको बताए । कमेन्टेटरहरू भन्दै थिए, ‘मैले मिस्टर आईपीएल रैनालाई आउट गरेँ भन्ने कुरा धेरै पछिसम्म पनि यीनले गर्वसाथ सुनाउन सक्नेछन् ।’ त्यसक्रममा उनीहरूले नेपाली कप्तान पारस खड्काको पनि नाम लिए ।
रैनालाई आउट गरेपछि क्रिजमा आएका साम विलिङ्स र पहिलेदेखि नै क्रिजमा रहेका धोनीलाई सन्दीपले दबाबमा राखिरहे । तेस्रो अभोरमा उनले जम्मा ३ रन खर्चिए । एकपटक त विलिङ बोल्ड हुनबाट बालबाल बचेका थिए ।
आफ्नो स्पेलको अन्तिम ओभर फाल्ने मौका सन्दीपले १६औं ओभरमा पाए । यो ओभरको पहिलो बलमै रवीन्द्र जडेजाले स्टेप आउट गर्दै छक्का प्रहार गरे । त्यसपछि दोस्रो बलमा मिस फिल्डका कारण २ रन गगो । बाँकी ३ बलमा धोनी र जडेजाले पालैपालो १–१ रन लिए । अन्तिम बलमा धोनीले सम्मान दिंदै कुनै पनि रन लिएनन् ।
दिल्लीको जितमा महत्त्वपूर्ण भूमिका निर्बाह गरेका लामिछानेलाई स्टाइलिस प्लेयर अफ दि म्याचको अवार्ड दिइयो । यससँगै सन्दीपले १ लाख भारु पुरस्कार पनि पाए । छोटो बाउण्ड्रीका कारण १९० भन्दा बढी रन पनि डिफेन्ड गर्न गाह्रो हुने कोटला मैदानमा सन्दीप सहित दिल्लीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि १६३ रन डिफेण्ड गर्दै ३४ रनको विजय सम्भव भयो ।
प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार १८:१३