जेठ ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजबाट कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट सुरु हुदैछ । प्रतियोगितामा नेपालका शीर्ष खेलाडीसम्मिलित १० टोलीले भाग लिने आयोजक बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । कर्णाली प्रदेशमै ठूलो पुरस्कार रहेको प्रतियोगिता विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार जित्ने छन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता जेठ १२ गतेसम्म सुर्खेत रंगशालामा हुनेछ । आयोजकका अनुुसार शक्ति गौचनको नेतृत्वमा रूपन्देही–११, सुवेन्दु पाण्डेको नेतृत्वमा मध्यपश्चिम क्रिकेट क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र प्रदीप ऐरीको कप्तानीमा महाकाली क्रिकेट क्लबले सहभागिता जनाउने छन् ।
राजन शेरचनले टीकापुर क्रिकेट क्लब, विवश गिरीले रोयल राइजिङ क्रिकेट क्लब, लोकेन्द्र बिकले भेरीगंगा स्पोर्ट्स क्लब, सञ्जय बस्नेतले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको कप्तानी सम्हाल्ने छन् । एबीसी क्लबमा रवीन्द्रजंग शाही तथा धनगढी क्रिकेट एकेडमीमा भुवन कार्कीको कप्तानी रहने आयोजकले जनाएको छ ।
रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ पाउने छन् । ‘मुलुकका शीर्ष टिम र खेलाडीको सहभागितामा ठूलो पुरस्कार राशिको प्रतियोगिता गर्न थालेका छौं,’ संयोजक रेशम शाहीले भने, ‘यसले कर्णाली प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
म्यान अफ द म्याचले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । करिब २० लाख लागतमा हुने प्रतियोगितालाई स्तरीय र व्यवस्थित बनाउन आफूहरूले सक्दो प्रयास गर्ने व्यवस्थापक जीवन शाहीले बताए । ‘पहिलोपल्ट प्रतियोगिता गर्न पाउँदा हामी उत्साहित छौं,’ व्यवस्थापक शाहीले भने, ‘प्रतियोगितालाई जतिसक्दो स्तरीय र व्यवस्थित बनाउन प्रयास गरिनेछ ।’
प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहीबार ०९:११