काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको संविधानले कल्पना गरेको राज्यको संरचनाको मोडललाई बुझ्न आग्रह गरेका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७५का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले संविधानले कल्पना गरेको राज्य संरचना अनुसार नै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिने भएकाले संविधानले कल्पना गरेको राज्यको मोडललाई बुझ्न आग्रह गरेका हुन् । संविधानमा उल्लेख समावेशी, समानुपातिक तथा सम विकासको अवधारणा अनुरुप नै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण भएको भन्दै उनले संविधानको सिमालाई बुझ्न आग्रह गरे ।
उनले संविधानले दिएको बाटो सम्म विधेयक समाजवाद उन्मुख भएको दाबी गर्दै धेरै क्रान्तिकारी धार लिएन कि भनेर चिन्ता नलिन आग्रह गरे ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता समाजवाद उन्मुख हुन नसकेको , संविधान अनुसार संघीय संरचनालाई अक्षरस स्वीकार गर्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका थिए । विधेयकमा नागरिकको खुसीलाई नै प्राथमिकतामा राखेर सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको पनि उनले स्पष्ट पारे ।
श्वेतपत्रका बारेमा उठेका जिज्ञासामा भने उनले ट्रेजरी भनेर आफुले नेपाल सरकारको अर्थमन्त्रालयमा रहेको पैसाको कुरा गरेको स्पष्ट पारे । उनले आर्थिक वृद्धि र टे«जरीका कुरालाई एकठाउमा राखेर नबुझ्न आग्रह गरे । उनले भने “ हामीले तल पठाएको पैसालाई पनि हिसाब गरेर हामी संग पैसा छ भन्ने हो भने, अर्को सरकारसंग भएको पैसा हामीसंग छ भनेर हिसाब गर्ने हो भने त के पो होला फेरी ? यो ट्रेजरी म्यानेजमेण्टको कुरा पनि बुझ्दिनुपर्यो सांसदहरुले । त्यति सजिलो कुरा छैन । ”
अर्थमन्त्री खतिवडाले विधेयकमा सिद्धान्ततः सबै नागरिकलाई लोककल्याणकारी राज्यको दायरामा ल्याउने, सामाजिक सुरक्षाको दायरामा ल्याउने र सवलीकरणमा अघि बढाउने भनिसकेपछि खण्ड खण्डमा सिद्धान्त नै नखोजी बजेटका कार्यक्रम पर्खन सुझाव दिए । उनले आगामी बजेट संघीयता कार्यान्वयनको भएको पहिलो बजेट हुने भएकाले इच्छाशक्ति र नया उत्साहका साथ कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।
प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार १६:१३