जनकपुर, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएका भारतीय समकक्षी नरेन्द्री मोदीलाई जनकपुरमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीले भारतको पटनाबाट सिँधै जनकपुरमा आएका भारतीय समकक्षी मोदीलाई जनकपुरस्थित जानकी मन्दिर परिसरमा स्वागत गरेका हुन् । त्यसअघि मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले जनकपुर विमानस्थलमा स्वागत गरेका थिए ।
त्यसपछि सिँधै जानकी मन्दिर पुगेका मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका हुन् । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजाआराधना गरेका थिए । जानकी मन्दिरमा पूजा गरिसकेपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले जनकपुर अयोध्या सिधा बस सेवा संचालनको शुभारम्भ गरेका थिए ।
त्यसैगरी दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा रामायण सर्किटको पनि उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा दर्शन गर्ने अवसर प्रदान गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए । जनपुरमा आफूलाई भव्य स्वागत गरिएको भन्दै उनले खुसी पनि व्यक्त गरे ।
यता, प्रधानमन्त्री ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिदैछ । भारतीय प्रधानमन्त्री ओली त्यसलगत्तै काठमाडौं आईपुग्ने कार्यक्रम तय गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनरको सम्मान प्रदान गरिनेछ ।
भारतीय प्रधानमन्त्री मोदीले आजै राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओली र मोदीबीच पनि आजै द्धिपक्षीय वार्ता हुनेछ । भोली पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरेपछि भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्कने कार्यक्रम रहेकोे छ ।
मोदीको यो भ्रमणलाई धार्मिक भ्रमणको रुपमा पनि लिइएको छ । मोदीको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्धमा न्यानोपना आउने पनि विश्लेषण गरिएको छ । प्रधानमन्त्री ओलीको नियन्त्रणमा भारतीय समकक्षी मोदी २ दिने नेपालको राजकीय भ्रमणमा आएका हुन् ।
प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार १३:१५