सुर्खेत, २६ वैशाख । आठ वर्ष वितिसक्दा पनि सुर्खेतको कारागार भवनको अवस्था उस्ताको उस्तै छ । निर्माण व्यवसायीको लापरवाहीका कारण कर्णाली प्रदेश राजधानी रहेको सुर्खेतका कैदीवन्दीहरु साँघुरो भवनमा बस्न बाध्य भएका छन् ।
जिल्ला कारागार सुर्खेतमा कैदीहरुलाई ठाउँ संगै शौचालयको धेरै समस्या रहेको जेलर लालबहादुर खत्रीले दुखेसो पोखे । पटक पटक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतमा कारागार भवन बनाउनका लागि पहल गर्न जाँदा प्रक्रियामा चलिरहेको छ मात्रै भन्ने गरेको जेलर खत्रीले गुनासो गरे।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतमा पटक पटक गएर पहल गर्दा पनि यो वर्ष पनि भवन बन्ने सम्भावना नरहेको जेलर खत्रीले बताए र्। ८ वर्ष विति सक्दा पनि जिल्ला कारागार सुर्खेतको भवन बन्ने कुनै छाठगाठ छैन’ जिल्ला कारागार सुर्खेतका निमित्त जेलर खत्रीले भने । उनका अनुसार ५० जना क्षमता भएको संरचनामा १ सय ९७ कैदीहरु बस्न बाध्य छन् ।
सांघुरो संरचनामा बस्दैआएका कैदीहरुले भौतिक संरचना तथा शौचालय, खानेपानीका साथै स्वास्थ्य उपचारका लागि आवश्यक गाडिको समेत अभाव भएको गुनासो गरेको जेलर खत्रीले बताए । कारागारमा ३ वटा शौचालय मात्रै भएको र भौतिक संरचनाका कारण कैेदीवन्दीहरु पालमुनी रात विताउन बाध्य भएको जेलर खत्रीले गुनासो गरे । उनका अनुसार जिल्ला कारागार सुर्खेतमा धेरै कैदी राख्ने ठाउँ नहुँदा अन्य जिल्लामा पठाउनु पर्ने बाध्यता रहेको छ् ।
छिमेकी जिल्ला बर्दिया, दाङ लगायत नजिकै जिल्लामा कैदी राख्ने ठाउँ नहुँदा पनि सुर्खेतबाट सुनसरीको झुम्कामा पठाउनु पर्ने बाध्यता रहेको जेलर खत्रीले बताए । उनले भने, ‘यहाँबाट सिधै सुनसरी पठाउँदा यहाँबाट कैदीका आफन्तलाई भेट्न जान पनि निकै गाह्रो छ, बर्दिया, दाङ जस्ता ठाउँमा पठाउन खोज्यो सिधै ठाउँ छैन भन्छन्, अब यहाँ राख्नको लागि ठाउँ छैन ।’
यसैगरी जिल्ला कारागारको भवन निर्माणका लागि २ करोड ३६ लाख ९८ हजारमा जिएम कन्स्टक्सनले २०६६ साल देखि २०७० सालमा पुरा गर्ने गरी सम्झौता गरेको थियो भने हालसम्म १ करोड ७७ लाख ४२ हजार भुक्तानी लिइसकेको र ५० प्रतिशत काम गरी सकेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
बारम्वार सम्पर्कका लागि सूचना र पत्राचार गर्दा समेत ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि कालो सूचीमा राखी सकेर जिल्ला कारागार सुर्खेतको भवनको लागि ठेक्का तोडेर नयाँ टेन्डर गर्ने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँगको सम्झौता तोडे लगत्तै नयाँ टेन्डरका लागि बजेट समेत माग गरि निर्माणको काम पुरा गर्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत परशुराम पराजुलीले बताए ।
प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार १४:१६