जुम्ला, २५ वैशाख । कृषि प्राविधिक शिक्षालय देखि पक्की पुल निर्माण तथा एक गाउँ एक सडक जस्ता योजनालाई प्रथामिकतामा राखेर जुम्लाको पातारासी गाउँपालिकाले समृद्धिको यात्रा थालेको छ ।
गाउँपालिकाले मंगलबार आयोजना गरेको सार्वजानिक सुनुवाईका अवसरमा गाउँपालिका अध्यक्ष लछिमन बोहोराले विभिन्न चुनौतीका बीच पनि पातरासीमा समृद्धिको खाका कोरिएको बताए ।
युवा उद्यमशिलता, महिला सिप मुलक तथा होजियारी तालिम, कृषि कार्यक्रमलाई पहिलो प्रथामिकतामा राखी काम भईरहेको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।
सार्वजानिक सुनुवाई कार्यक्रममा अध्यक्ष बोहोराले गाउँपालिका पातारासीबाटै समृद्धिको सन्देश जिल्लामा दिने दाबी गरेका छन् ।
कृषि उत्पादनका हिसाबले अबल भएकाले आलु तथा विश्वकै उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोमा फल्ने कालीमार्सी धान संरक्षण जस्ता कृषि उत्पादनलाई गाउँपालिकाले प्राथमिकता दिने अध्यक्ष बोहोराले बताए ।
स्थानीय तहको निर्वाचन भएको एक वर्षको अवधिमा गाउँपालिकाले सडक निर्माण, एक घर एक धारा, पक्की पुल निर्माण, एम्बुलेन्स सेवा लगायतका विकासका काम भएको अध्यक्ष बोहोराले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले कर्मचारीको नियमितता, विषयगत कार्यक्रम संचालनको अवस्था सन्तोषजनक रहेको बताए । उनले नागरिकलाई गाउँमै सिंहदरबारको महसुश गराउन कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध नङ मासु जस्तो हुन आबश्यक भएको बताए ।
विस्तारै सबै कुराको व्यवस्थापन गर्दै पातारासी गाउँपालिकालाई देशकै नमुना तथा समृद्ध गाउँपालिका बनाउने योजना अघि सारिएको प्रमुख प्रसाशकिय अधिकृत बुढाले बताए ।
गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा विभिन्न सात शिर्षकमा विनियोजित कुल २४ करोड ५८ लाख २१ हजार १ सय २६ मा खर्च १२ करोड ६१ लाख ५४ हजार खर्च भएको प्रमुख प्रसाशकिय अधिकृत बुढाले जानकारी दिए। जुन कुल बजेटको अहिले सम्म ५१ प्रतिशत खर्च भएको छ ।
विनियोजित सबै शिर्षकको बजेट आर्थिक वर्ष भित्रै खर्च गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको प्रमुख प्रसाशकिय अधिकृत बुढाले जानकारी दिए ।
जुम्लाका आठै स्थानीय तह मध्य सबै भन्दा अघि पातारासीमै सबै विषयगत कार्यालयहरु गाउँपालिकामा हस्तान्तरण हुने कार्यजारी रहेको प्रमुख प्रसाशकिय अधिकृत बुढाले उल्लेख गरे ।
गाउँपालिकाले गर्ने विभिन्न गतिविधिको पारदर्शिता तथा आम नागरिकलाई सुसुचित गर्नका लागि आगामी आर्थिक वर्षबाट वर्षमा तीन चोटी सार्वजनिक सुनुवाई गरिने उनको भनाई छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले विकास निर्माणका क्षेत्रमा राजनीतिक हावी हुने प्रचलन भएकोले त्यसको अन्त्य गरी समानुपातिक विकास गर्न सुझाब दिएका थिए ।
सात वटै वडा अध्यक्षहरु जनता मैत्रीपुर्ण हुनुपर्ने भन्दै आगामी वर्षका विकास निर्माणमा समाबेशी सहभागितालाई जोड दिन पनि माग गरेका छन् । गाउँपालिकाले प्राप्त सुझाबलाई आत्मसाथ गर्दै आगामी दिनमा गाउँपालिकाको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता गरेका छन् । सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण सर्बोदय विकासका लागि अभियानले गरेको थियो ।
प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलवार १९:१२