काठमाडौं, २४ वैशाख । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गरेको छ ।
राष्ट्रपति विद्या भण्डारीले पत्रकारद्धय डा. विष्ट र डा. अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेकी हुन् । सोमबार तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रपति भवन सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान समेत प्रदान गरिन् ।
सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सोही अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सूसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरुलाई सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन् । उनले पत्रकारिताको माध्यामबाट मुलुकको समग्र क्षेत्रको विकासमा पुरस्कृत पत्रकारहरुले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिन् ।
राष्ट्रपति भण्डारीले मुलुकमा सदभाव कायम गर्न पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनका लागि नेपाली पत्रकारहरुले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरिने ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले पुरस्कार पाउने पत्रकारहरुको छनौट विधिलाई अझै व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारले कसैमाथि पनि अन्याय नहुने गरी पुरस्कृत पत्रकारहरुको छनौट गरेको दावी समेत गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको समृद्ध र सुशासनको एजेन्डामा नेपाली पत्रकारहरुले सक्दो साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता हनन् हुन्छ कि भनेर आशंका नगर्न पनि संचारकर्मीहरुसँग आग्रह गरे ।
अध्यक्ष आचार्यले सरकारले पत्रकारहरुको सम्मान गर्ने परम्परालाई निरन्तरता दिएकोमा आभार पनि व्यक्त गरे ।
प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार १५:३५