सुर्खेत, २४ वैशाख । आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्यसहित नेपाल सरकार ल्याइएको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम कर्णाली प्रदेशमा पनि प्रभावकारी बन्दै गएको छ ।

भौगोलिक कठिनाई, गरिबी, नागरिकको चेतनास्तर लगायतका चुनौतिका बाबजुद पनि स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको कर्णाली प्रदेशका सूचना अधिकारी सुरजन रोकायले बताएका छन् । उनले भने ‘थुप्रै चुनौतिका बिच पनि हामीले जनतालाई बिश्वासमा लिन सफल भएका छौ ।’
गरिब नागरिकका लागि स्वास्थ्य बिमा बढी आवश्यक हुने भएकाले बिमा गराएर पैसाको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह समेत गरिएको छ । स्वास्थ्य बिमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाईने भएकोले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा स्वास्थ्य उपचार नपाउने गरिब, बिपन्न नागरिकका लागि सरकारले २०७४ असारबाट जुम्ला र जाजरकाेट, असोज ६ गते सुर्खेतमा र यही चैतबाट रुकुममा गरी कर्णाली प्रदेशका चार जिल्लामा स्वास्थ्य बिमाको शुभारम्भ गरेको थियो ।
यस्तै कर्णाली प्रदेशका चार जिल्लामा ३५ हजार बढी नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड, कर्णाली प्रदेश कार्यालयका अनुसार ७ हजार २४४ परिवारका ३५ हजार ६४३ जनाले व्यक्ति स्वास्थ्य बिमामा आवद्ध भएका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत, जाजरकोट, रुकुम र जुम्ला गरी ४ जिल्लामा उक्त कार्यक्रम लागु भएको स्वास्थ्य बिमा बोर्ड, कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी सुरजन रोकायले जानकारी दिए ।
सरकारले २०७५ सालभित्र देशका ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार १४:४४