काठमाडौँ, १७ वैशाख । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोच र चिन्तनको खाँचो रहेको बताएका छन् ।
ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज उद्घाटन गर्दै उनले भने, “हामी सबैले धर्म, समूह, पार्टी वा समुदायको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ ।”
सभामुख महराले सकारात्मक सोच र चिन्तन गर्न सके मात्रै समाज र समग्र राष्ट्रको उन्नति हुने बताउँदै अहिले देशलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो भएकाे बताए ।
“समाजमा शान्ति, सद्भाव र तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलेको मैले बुझेको छु”– उनले भने, “आम मानिसमा रुपान्तरणसहित सकारात्मक सोचको विकास गर्नेतर्फ अझ राम्रो भूमिका खेल्नुहोस ।”
सभामुख महराले ब्रह्मकुमारी राजयोगले अंगालेको दर्शन परम्परागत धर्म, पूजापाठसँग जोडिएको नभई आध्यात्मिक दर्शन र भौतिकवादको समिश्रण रहेको आफूले बुझेको उल्लेख गर्दै हृदयदेखि नै सकारात्मक रुपान्तरण राजयोगको मूल सारतत्व रहेको बताए ।
राजयोगले परिकल्पना गरेको शान्त र समृद्ध समाजको चाहनामा आफू पनिसँगसँगै रहेको बताउँदै उनले देशको नीति निर्माण गर्ने थलो संसद्मा पनि सकारात्मक चिन्तन पद्धतिको खाँचो रहेकाे उल्लेख गरे ।
प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार २०:२७