सुर्खेत, १३ बैशाख । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधवार पारित भएको छ । नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले विभिन्न रायसुझाव दिएपछि बुधवार सर्वसम्मतरुपमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख
राजबहादुर शाहीले सर्वसम्मत रुपमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।
बुधवारको प्रदेशसभामा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही प्रदेश सांसदहरुको पारिश्रमिक नतोकिएको, मन्त्री, सांसद, प्रतिपक्ष दलका नेताहरुको बसाई व्यवस्थापन हुन नसकेको, सांसदहरुलाई खानेपानीको व्यवस्था हुन नसकेको, सचिवालयको काम कारबाही फरक हुने गरेको, सांसदहरुले डूेस कोड विर्सिएको भन्दै समाभुखको ध्यानाकर्षण गराएका थिए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति पनि उनले कडा टिप्पणी गर्दै नारै नारा र उखानले मात्रै भरिएको आरोप लगाए । विषयबस्तुलाई प्राथमिकता दिएर निर्धारण गर्नुपर्नेमा सवै क्षेत्रमा हात हाल्दा खिचडी बन्न पुगेको उनको भनाइ छ ।
बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचनासहित समर्थन गरेका छन् । यद्यपि पहिलो प्रयास भएको भन्दै तीन महिने नीति तथा कार्यक्रम प्रदेश समृद्धिको योजना बनाउने मुख्य पाइला भएको बताएका थिए । नीति तथा कार्यक्रममा प्रदेश सांसदहरु गुलावजंग शाह, करवीर शाही, कुर्मराज शाही, कृष्णा शाह, पद्मा खडका्, बद्मी क्वारी बोहरा, विन्दमान
विष्ट, मीनासिंह रखाल, दानसिंह परियारलगायतले विभिन्न सुझाव दिदैं समर्थन गरेका थिए ।
नीति तथा कार्यक्रममाथि उठेको जिज्ञासावारे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएका थिए । उनले प्रदेश समृद्धिका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र प्राथमिकताका आधारमा सरकारले काम गर्ने प्रतिवद्धता जनाए । उनले हुम्ला, डोल्पा र मुगुबाट उत्तरी नाका खोल्न पहल गर्ने योजना नीति तथा कार्यक्रममा ल्याइएको जानकारी दिए ।
प्रकाशित मिति: १३ बैशाख २०७५, बिहीबार ०७:३४