सुर्खेत, ६ वैशाख । सुर्खेतमा गत वर्षको तुलनामा यस वर्ष करिव ३० प्रतिशत सम्वन्ध विच्छेदको मुद्दा दर्ता भएका छन् । आर्थिक अभाव र लागुऔषध कुलतका कारण घरवार विग्रिने गरेको छ भने रोजगारीकालागि विदेश गएका अधिकांश पुरुष र महिलाहरुको पारिवारिक सम्वन्ध दिगो नहुने गरेको जिल्ला अदालत सुर्खेतमा दर्ता भएका सम्वन्धविच्छेदका मुद्दाले देखाएको छ ।
जिल्ला अदालतमा सुर्खेतमा दर्ता भएका १०८८ मुद्दा मध्ये ३०३ थान मुद्दा सम्वन्ध विच्छेदका रहेका छन् । यसमध्येपनि अधिकांश सम्वन्ध विच्छेदका मुद्दा बैदेशिक रोजगारमा गएकाहरुको परिवार विच आर्थिक कारोवारका कारण हुने गरेको छ ।
जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार वीरेन्द्र मल्लले सम्बन्धविच्छेद मुद्दा दिनप्रतिदिन बढ्दै गइरहेको बताएका छन् । उनले सामाजिक, आर्थिक र शारीरिक कारणले गर्दा पनि सम्बन्धविच्छेदलाई बढावा दिइरहेको बताए ।
विदेशबाट पठाएको रकम हिनामिना भएपछि पारिवारिक सम्वन्ध विग्रिने अवस्था आउने गरेको छ । जसले गर्दा सम्वन्ध विच्छेदकालागि अदालतसम्म पुग्ने गरेका छन् । श्रीमान्ले विदेशमा अर्को राखेको र श्रीमती स्वदेशमा अर्कोसंग लागेका भन्दै अदालत जाने गरेको स्थानीय अधिवक्ताको भनाई छ ।
सरकारले रोजगारको श्रृजना गर्न नसक्दा रोजगारकालागि विदेश जाने बध्यताका कारण सम्वन्ध विच्छेदका घटना बढ्ने गरेको स्थानीय अधिकारकर्मीको भनाई छ । यसलाई निरुत्साहीत गर्न स्वदेशमै रोजगारीको सृजना गर्न आवश्यक भएको उनीहरुको भनाई ।
अधिवक्ता कौशीला योगीले सम्बन्धविछेदको कारणले बालबालिकामा असर गरेको भन्दै युवाशक्तीलाई नेपालमै सरकारले रोजगार दिलाउन सके सम्बन्धविच्छेदका घटना न्युनिकरण हुने बताइन् । उनले पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएका युवाहरुको नै धैरेजसो सम्बन्ध विच्छेद भएको बताइन् ।
अदालतमा आउने अधिकंश सम्वन्धविच्छेदका मुद्दा रोजगारीमा गएका र लागुऔषधको दुव्र्यशनीमा परेका परिवारवीच आउने गरेको छ । अदातलको फर्मेट एकै प्रकृतिको हुने भएकाले श्रीमान्ले कुटपिट गर्नेभएकाले सँगै वस्न नसक्ने भएकाले अंशसहितको विच्छेद गर्ने गरि आउने गरेको जिल्ला अदालतले जनाएको छ ।
यसलाई निरुत्साही गर्न सरकारले स्वदेशमै रोजगारी दिन सके सम्वन्धविच्छेदका मुद्दामा कमि आउन सक्छ ।
प्रकाशित मिति: ६ बैशाख २०७५, बिहीबार १५:१३