लुम्बिनी, ३ बैशाख । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५ सय ६२ औं बुद्ध जयन्ति तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको भव्य तयारी थालिएको छ ।
बुद्धको जन्मस्थल लुम्विनीलाई शान्तिको मुहानको रुपमा विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको बौद्ध सम्मेलनको तयारीको कामलाई तीव्रता दिइएको हो । शान्तिका अग्रद्रत बुद्धको जन्मस्थललाई विश्व शान्तिको मुहानको रुपमा स्थापित गराउने उद्देश्यका साथ बुद्ध जयन्तिको अवसर पारेर अन्तराट्रिय बौद्ध सम्मेलन आयोजनाका लागि आवश्यक तयारीको कामलाई तीवता दिइएको लुम्विनी विकास कोषका कोषाध्यक्ष अवदेशकुमार त्रिपाठीले जानकारी दिए ।
‘लुम्बिनी नेपालः बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने मूल नाराका साथ आगामी बैशाख १५ र १६ गते अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते बुद्ध जयन्ती भव्यताका साथ मनाउने सरकारको तयारी छ ।
सम्मेलनामा विश्वभरका बौद्ध धर्मगुरुहरु सहभागी हुनेछन । विश्वका सबै बौद्ध धर्मगुरुहरुलाई सम्मेलनमा आउन नियन्त्रणा गरिएको पनि कोषले जनाएको छ । कोषका कोषाध्यक्ष त्रिपाठीले चीन, कोरिया, श्रीलंकाका धर्मगुरुहरुले सम्मेलनमा भाग लिने औपचारिक जानकारी गराइसकेको पनि जानकारी दिए ।
सम्मेलनमा ‘विश्व शान्ति र बौद्ध धर्म’ विषयक १७ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछ । ३ हजार मानिसहरु अटने गरी सम्मेलनका लागि अस्थायी हल निर्माण कार्यलाई तीव्रता दिइएको छ । ३ करोड ९७ लाख लागतमा यो अस्थायी हल बनाउने जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ ।
सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेको बुद्धसँग सम्बन्धित क्षेत्रहरुको सरसफाई र रंग रोगनको काम पनि भईरहेको कोषका कोषाध्यक्ष त्रिपाठीले बताए । लुम्विनी र त्यस क्षेत्रको सरसफाई र रङरोगनका लागि करिव ६ करोड बजेटको व्यवस्था सरकारले गरेको छ ।
सरकारले बुद्धको जन्मस्थल लुम्विनीलाई विश्व शान्तिको मुहानको रुपमा स्थागित गराउँदै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षाका साथ यस वर्ष लुम्विनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।
प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार १२:३३