काठमाडौं, २८ चैत । सरकारले पाँच वर्षे शैक्षिक मार्गचित्र सार्वजनिक गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्ने भन्दै ५ वर्षे शैक्षिक मार्गचित्र सार्वजनिक गरेको हो । विगतको पाठ, वर्तमानको धरातल र भविष्यको अपेक्षालाई समेत सम्बोधन हुने गरी शैक्षिक मार्गचित्र तय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको मार्गचित्रमा देशभक्तिलाई प्रवद्र्धन गर्ने शैक्षिक प्रणाली अवलम्बन गर्ने उल्लेख गरिएको छ । मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने कामलाई सुनिश्चित हुनेगरी आवश्यक कानुनी, संरचनागत र संस्थागत रुपान्तरण गर्ने पनि स्पष्ट पारे ।
मार्गचित्रमा विद्यालय तहको शिक्षालाई निःशुल्क तथा विश्वविद्यालय तहको शिक्षालाई अनुसन्धानमूलक बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । राष्ट्रलाई आवश्यक हुने जनशक्ति निर्माण हुने गरी आवश्यक जनशक्ति निर्माण गर्ने योजना पनि अघि सारिएको मन्त्री पोखरेलले बताए ।
मार्गचित्रमा सबै प्रदेशहरुमा एक आवासीय भातृभाषा विद्यालय स्थापना गर्ने योजना पनिअघि सारिएको छ । आवश्यक्ता र स्थानीय रुचि र चाहना अनुसार पाठयक्रम निर्माण गर्ने घोषणा पनि गरिएको छ । मन्त्री पोखरेलले बालबालिकाको चाहना अनुसारको पाठयक्रम निर्माणका लागि स्थानीय तहका सरकारसँग समेत परामर्श गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
मार्गचित्रमा सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यसैगरी शिक्षामा प्रविधिको पहुँच पुर्याउन सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने, प्राविधिक शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने, उच्च शिक्षामा राष्ट्रिय स्वयमसेवा कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।
मन्त्री पोखरेलले शैक्षिक निकाय र जनशक्तिलाई पारदर्शी र सेवाग्राहीप्रति उत्तरदायी बनाउन सुशासनमा जोड दिने पनि स्पष्ट पारे । मार्ग चित्रमा अभिव्यक्त नीति, कार्यक्रम र योजनाहरु ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना बैशाख २ गते सार्वजनिक गर्ने मन्त्रालयको योजना छ । मन्त्री पोखरेलले मार्गचित्रमा उल्लेख गरिएका विषयहरु योजना बनाएर कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार १६:२७