काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका हुन् । त्यसक्रममा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो भ्रमण उपलब्धिपूर्ण रहेको बताए । प्रधानमन्त्री ओलीले भारतसँग आफूले अव कहिल्यै नविग्रनेगरी सम्बन्ध विस्तार गरेको पनि स्पष्ट पारे । उनले भ्रमणमा छलफल र निष्कर्ष लिनुपर्ने विषयमा सोही अनुसारको काम गरिएको दावी पनि गरे ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा कृषि क्षेत्रमा नयाँ साझेदारी, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार र नेपाल–भारत अन्तरदेशीय जलमार्ग निर्माण गर्ने सहमति गरिएको पनि स्मरण गराए । उनले सीमा विवाद, डुबान समस्या समाधानका विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग समस्या समाधान हुने गरी छलफल गरिएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भारतीय नेतृत्वदेखि बुद्धिजीविसम्म र त्यहाँस्थित कुटनीतिक नियोगसँग पनि भ्रमणका क्रममा भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपालले लिएको अडान र दृष्टिकोणलाई सबै पक्षले सकारात्मक रुपमा लिएको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सम्बन्ध सुधारका विविध आयामका विषयमा छलफल गरिएको बताए । उनले भूकम्पपछिको पुननिर्माणको लागि भारतीय प्रतिवद्धता, पञ्चेश्वर जस्ता परियोजना अघि बढाउने विषयमा पनि भारतीय पक्षसँग छलफल गरिएको जानकारी दिए ।
विगतका परियोजना अघि बढाउन सरकारले अव भारतसँग गम्भिर वार्ता गर्दै अघि बढाउने प्रधानमन्त्री ओलीको योजना छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा वीरगंजस्थित एकीकृत भन्सार जाँच चौकीको उद्घाटन गरिएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरेका थिए ।
त्यसैगरी मोतिहारी अमलेखगंजसम्मको पेट्रोलियम पाईपलाईन विस्तारको पनि उद्घाटन गरिएको छ । भारत भ्रमणकै अवसरमा प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि एवम प्रोद्योगिक विश्वविद्यालयले विद्यावारिधिको उपाधि समेत प्रदान गरेको थियो । भारत बसाईका क्रममा प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुसँग सामूहिक छलफल गरी नेपालमा लगानी भित्रयाउने पनि आग्रह गरेका थिए ।
प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार २१:१४