काठमाडौं, २३ चैत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५को उद्घाटनका लागि रारामा आउन औपचारिक निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले विहीवार वेलुका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसंगै प्रधानमन्त्री निवास वालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् ।
निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि आफु रारामा आउने प्रतिवद्धता व्यक्त गरे । भेटघाटका क्रममा पर्यटन वर्षको उद्घाटनसंगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्वोधन गर्ने, पर्यटन वर्षको उद्घाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायानाथ, हिल्सा, पातालझरणाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले शुक्रवार विहान नीजि निवास खुमलटार पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिएका हुन् ।
प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णाली प्रदेश पर्यटनका हिसावले राम्रो सम्भावना वोकेको प्रदेश हो ।
प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार ०९:४७