सुर्खेत, २० चैत । कर्णाली प्रदेशसभाले प्रदेशसभा नियमावली मस्यौदा सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको मंगलवारको आठौं बैठकले केही संशोधनसहित नियमावली सर्वसम्मत पारित गरेको हो । मंगलवारको सभामा प्रदेश सदस्यहरुले विभिन्न रायसुझावका साथ कुनै पनि सदस्यहरु नियमावलीको विपक्षमा नभएपछि सभामुख राजबहादुर शाहीले केही संशोधनसहित सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।
सात सदस्यीय प्रस्ताव गरिएको कार्य व्यवस्था परामर्श समितिको संख्या ११ राख्नुपर्ने, अधिवेशनको अवधि ६ महिनाभन्दा बढी हुन नहुने, प्रदेश सरकारको सिफारिसमा सदन आव्हान र अन्त्य गरिने, आसन ग्रहणपछिको क्रम शव्द हटाउनुपर्ने, संसदमा प्रस्तुत भएको विधेयकमा संशोधन प्रस्ताव राख्नका लागि दिइने समय १२० घन्टा प्रस्ताव गरिएकोमा अव घटाएर ७२ घन्टा राख्न, विषयगत समितिको सभापति भन्ने शव्द हटाएर अध्यक्ष राख्नुपर्ने संशोधन बुँदाहरु राखिएको छ ।
नियमावलीमाथि प्रदेश सदस्यहरु गुलाबजंग शाह, विन्दमान विष्ट, पद्मा खड्का र देवी ओलीले संशोधन गर्नुपर्ने सुझाव राखेका थिए ।
यस्तै प्रदेशको पहिलो विधेयकको रुपमा दर्ता भएको आर्थिक कार्यविधि विधेयकमाथि प्रदेश सदस्यहरुले विभिन्न सुझाव दिएका छन् । प्रदेश सदस्यहरु चन्द्रबहादुर शाही, धर्मराज रेग्मी, कुर्मराज शाही, दिनवन्धु श्रेष्ठ र देवी ओलीले सो विधेयकमाथि धारणा राखेका थिए । विधेयकमाथि उठेका सवालहरुका वारेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशको सम्पूर्ण आर्थिक गतिविधि संचालनका लागि यो विधेयक महत्वपूर्ण भएको बताए ।
यस्तै विशेष समयमा उठेका धारणावारे आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक विकास तथा पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीले सरकारको धारणा राखेका थिए ।
प्रकाशित मिति: २० चैत्र २०७४, मंगलवार १८:३५