काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा देशको शिर निहुराउने कुनै काम नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफ्नो भारत भ्रमणबारे मंगलबार प्रतिनिधिसभाको बैठकलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा मुलुकलाई अप्ठयारो हुने, शिर निहुराउने कुनै काम नहुने स्पष्ट पारेका हुन् । भ्रमणबाट भारतसंगको सम्बन्ध अझै सुदृढ, अझै प्रगाढ बन्दै जाने विश्वास पनि उनले व्यक्त गरे । छिमेकी राष्ट्रसंग शंकारहित, अविश्वास रहित र भरपर्दो मित्रताको विकास गर्दे लैजाने निति सरकारले लिएको उल्लेख गर्दै उनले देश र जनताको अधिकतम हितमा भ्रमण केन्द्रित गरि उपलब्धिपुर्ण बनाउने आश्वासन दिए ।
अघिल्लो कार्यकालमा पनि आफ्नो भारत भ्रमणका क्रममा दुरगामी महत्वका केही सम्झौता भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भएका सम्झौता कार्याान्वय र सम्बन्ध प्रगाढमा विशेष ध्यान दिने स्ष्ट पारे । कृषि क्षेत्रमा पारस्परिक सहयोग आदान प्रदान, आधुनिकीकरण र व्यवसायीकरणका विषयलाई सरकारले प्राथमिकतामा राखेको भन्दै उनले भारतसंग जलमार्ग र रेल मार्गको कुरा गर्ने बताए ।
अन्तराष्ट्रिय उत्तरदायित्व र कर्तव्यका विषयमा आधारित भएर अन्तराष्ट्रिय सम्बन्धलाई हेरिनुपर्ने उल्लेख गर्दे उनले सरकारले विकासका साझेदारको रुपमा पनि छिमेकी राष्ट्रसंग सुमधुर भरपर्दो र मैत्रीपुर्ण सम्बन्ध विस्तार गर्न बताए । भ्रमणका क्रममा कनेक्टीभिटीलाई अझ प्रभावकारी बनाउने विषय, भुकम्प पछिको पुन निर्माणको सम्बन्धमा भारतको तर्फबाट भएका प्रतिवद्धता कार्यान्वयन, पुर्ननिर्माणको जिम्मा लिएका कामलाई तिब्रता दिलाउने, विभिन्न परियोजनाहरुमा भारतबाट सहुलियत पुर्ण ऋण लिन सक्ने र उपयोग गर्ने सन्र्दभमा पनि छलफल हुने उनले स्पष्ट पारे ।
पारवहनका सम्बन्धलाई थप सहज बनाउने, दार्चुला नाका संचालन तथा महाकालि नदीमा पुल निर्माण लगायत पुर्वाधार निर्माणलाई तिब्रता दिने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको भन्दै उनले भारतले बन्द गरेको पाच सय र एक हजार रुपैयाका नोटको बारेमा पनि कुरा उठाउने बताए ।
त्यसैगरी सार्क र विमस्टेकको अध्यक्ष राष्ट्रका दृष्टिले विमस्टेकको सम्मेलन र सार्क शिखर सम्मेलन आयोजना गर्ने सन्र्दभमा पनि भ्रमणका क्रममा छलफल हुने भएको छ । प्रधानमन्त्रीले सिमा अपराध नियन्त्रण लगायत विषयमा भारतका जाहेज चासो र चिन्तालाई नेपाल सरकारले पनि ध्यान दिने पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति, केही बरिष्ठ मन्त्री र उच्च अधिकारीसंग छलफल र भेटघाट गर्नुको भारतका व्यापारिक समुदाय,उद्योगपति वुद्धिजिवी लगायतहरुसंग छ्टाछ्ट्ै छलफल र अन्तरक्रिया गर्ने छन् । कृषि क्रान्ति ल्याउने क्रममा असाधारण योगदान दिएको उत्तराखण्डको कृषि तथा प्रविधि विश्वविद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन भ्रमण गर्ने तथा दिल्लीस्थित नेपाली समुदायसंग भेट्ने कार्यक्रम तय भएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही समुहले चन्दा संकल्न गर्ने नाममा मुलुकको शान्ति विथोल्ने काम गरेको भन्दै ती क्रियाकलापलाई सरकारले नियन्त्रण गरि शान्ति कायम गर्ने बताए । उनले श्वेतपत्र अर्थतन्त्रको यथार्थ चित्रण गरिएको यथार्थ पत्र भएको स्पष्ट पारे ।
विदेश भ्रमण गर्नु अघि संसदलाई जानकारी गराउने चलन अनुसार प्रधानमन्त्री ओलीले त्यसबारे प्रतिनिधीसभा बैठकलाई त्यसबारे जानकारी गराएका हुन् ।
प्रकाशित मिति: २० चैत्र २०७४, मंगलवार १७:१९