काठमाडौँ, १६ चैत । सरकारले मुलुकको समग्र आर्थिक अवस्थाबारे सांसदहरुलाई जानकारी गराएको छ ।
शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभा र प्रतिनिधिसभालाई सम्बोधन गर्दे देशको वर्तमान आर्थिक स्थिति बारे जानकारी गराएका हुन् । उनले पूँजी निर्माणका क्रियाकलापहरु सुस्त रहेको तथा राज्यले प्रदान गर्नुपर्ने आधारभुत सेवाहरुको गुणस्तर कमजोर रहनु,उत्पानमुखी भन्दा वितरण बजेट तर्जुमा गरिनु तथा बजेट अनुशासन उलंघन भएका कारण राज्यको ढुकुटी रितो हुँदै गएको बताएका छन् ।
उनले सहज व्यवसायीक वातावरणको अभावमा आर्थिक क्रियाकलापहरु विस्तार हुन नसकेको, स्रोतको अनिश्चितताबीच तयार पारिएको बजेट कार्यान्वय हुन नसक्ने र गैह बजेटरी खर्च वृद्धि हुने प्रवृतिले सार्वजनिक वित्त व्यवस्थापन चुनौतिपुर्ण बनेको बताए । अनौपचारिक अर्थतन्त्र मौलाएका कारण राजश्व संकुचित भएको, विप्रेषण आप्रवाहमा कमी आएको तथा बाह्य क्षेत्रको धान्नै नसकिने असन्तुलनले विदेशी मुद्रा सन्चितिमा चाप पर्न थालेको पनि उनले औँल्याए ।
उनले नेपालले अति कम विकसित राष्ट्रहरुको सूचीबाट सन् २०२२ सम्म विकासशील राष्ट्रमा स्तरोन्नती हुने लक्ष्य लिएको भएपनि प्रतिव्यक्ति राष्ट्रिय आयमा वृद्धि हुन नसकेको बताए । उनले अर्थतन्त्रमा लगानीको आधार न्युन रहेको, कुल खर्चको तुलनामा पूँजीगत खर्चको आकार सानो रहेको तथा राजश्वले चालु खर्च धान्न नसक्ने स्थितिमा रहेको औँल्याए ।
उद्योमशिलता प्रर्वद्धन गर्न नसकिएको,कृषिको उत्पादकत्व कम भएकाले कृषकहरु पेशाबाट पलायलन हुने तथा परम्परागत कृषिमा श्रमिकको अभावका कारण कृषि उत्पादनमा अपेक्षित वृद्धि हुन नसकेकाले १ खर्ब भन्दा बढीको खाद्यान्न आयात हुन थालेको उनले उल्लेख गरे ।
अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजीबजार शसक्त माध्यम भएपनि अहिले पूँजीबजार धितो पत्रमा मात्रै निर्भर रहेको भन्दै उनले सुचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी र साना लगानी कर्ताहरुमा शेयरलगानी सम्बन्धी ज्ञानको कमीले शेयर मुल्य मापन गर्ने नेप्से सुचकाङ्कमा प्रभाव देखिने गरेको बताए ।
सरकारको प्रत्यक्ष नियमन भित्र रहेका वित्तिय संस्थाहरुको अनुगमन र निरीक्षण कमजोर रहेको, सबैलाई करको दायरामा ल्याउन नसकिएको तथा स्वयम मुल्य कर घोषणमा कर दाताले यथार्थ कर निर्धारण गर्न नसकेको लगायत समस्या विद्यमान रहेको उल्लेख गरे ।
नेपालको अर्थतन्त्र निकै चुनौति पुर्ण र समष्ट्रिगत आर्थिक परिसूचक सकारात्मक नभएको फेहरिस्त प्रस्तुत गर्दे अर्थमन्त्री खतिवडाले यसलाई सरकारले संभावना र अवसरको रुपमा लिदै सम्वृद्धि तर्फ अघि बढ्ने उद्घोष गरे । त्यसका लागि सरकारले तत्काल वित्तिय अनुशासन कायम गर्दै राजश्व परिचालनलाई थप प्रभावकारी बनाउनुको साथै वित्तिय साधनलाई उत्पादनमुखी बनाईने बताए ।
मुलुकको अर्थतन्त्रमा देखिएको विद्यमान संरचनात्मक समस्याहरुको समाधानका लागि सरकारले सबैको सहयोगको अपेक्षा लिएको उहाँले उल्लेख गरे ।
प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार १६:५५