सुर्खेत, १६ चैत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक सवारी साधन बढ्दै गएपछि पार्किङ व्यवस्थापनमा समस्या देखिएको छ ।
वीरेन्द्रनगरका सडक छेउछाउमा जथाभावी रुपमा सवारी साधन राखिदाँ बजार क्षेत्र अस्तव्यस्त हुँदा समस्या देखिएको हो । स्थानीय नियकायले पार्किङको व्यस्थापन गर्न नसक्दा वजार क्षेत्र अस्तव्यस्त बन्दै गएको हो ।
ट्राफिक प्रहरीमा जनशक्तिको अभावकासाथै पार्किङको टुंगो नभएका कारण सवारी साधन जथाभावी अड्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सवारी सधान अत्याधिक बृद्धि भएको र पार्किङ व्यवस्थित हुन नसक्नु ट्राफिक प्रहरीकालागि चुनौती बनेको कार्यालयले जनाएको छ ।
वीरेन्द्रनगर बजारको पार्किङ, बसपार्क व्यवस्थापन हुन नसकेको वीरेन्द्रनगर ट्राफिक इन्चार्ज कवि सेन्चुरीले बताए । उनले नगरभित्रका सडकहरु साँघुरा, पुराना र जिर्ण भएको गुनासो गरे ।
इन्चार्ज सेन्चुरीले नगरमा भित्रिएका सवारी साधनले चुनौती खडा गरेको बताए । उनले वीरेन्द्रनगर बजार क्षेत्रमा पार्किङको व्यवस्था, पैदलयात्रुलाई जेब्राक्रसीङको व्यवस्था, फुटपाथ र पुराना र जिर्ण भएको सड्कको मर्मत भए ट्राफिकलाई काम गर्न सहज हुने बताए ।
ट्राफिक इन्चार्ज सेन्चुरीले ट्राफिकसँग हुनुपर्ने आवश्यक सामग्रीहरु नभएको र पैदलयात्रुहरुलाई फुटपाथमा हिड्न समस्या भएका कारणले गर्दा दुर्घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक महिनामा झण्डै २ सय भन्दा बढी मोटरसाइकल, २५ भन्दा बढी टेम्पो १० देखि १५ वटा सम्म कार जीप भित्रिने गरेका छन् । प्रत्येक वर्ष ४० प्रतिशतका दरले सवारी साधन बृद्धि भएको यातायात व्यवस्था सेवा कार्याल सुर्खेतका प्रमुख शम्शेर रानाले जानकारी दिएका छन् । यस वर्ष ६ हजार ८४६ वटा सवारी साधनले सुर्खेतबाट नविकरण गरेको सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार १४:०२