सुर्खेत, १५ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बुलबुले उद्यान र कांक्रेविहारलाई पर्यटकिय क्षेत्रमा विकास गर्नका लागि संरक्षण गर्न जरुरी रहेको बताएका छन् । विहिबार बुलबुले उद्यानमा भएको सरसफाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बुलबुले उद्यानलाई सुरक्षित राख्नका लागि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
सरसफाई कार्यक्रममा पर्यटन मन्त्री नन्दसिंह बुढाले बुलबुले तालको संरक्षण र सम्वृद्ध गर्ने बताए । उनले बुलबुल उद्यान, काँक्रेविहार विकासका लागि थप आयोजना ल्याउँने बताए ।
सामाजिक विकास मन्त्री दल रावलले बुलबुले तालमा चिडियाखाना, गुम्बा, शिवालय निर्माण गर्न सके पर्यटकहरुको संख्यामा वृद्धि हुने बताए । कृषि मन्त्री विमला केसीले जम्मा भएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्नुपर्नेमा जोड दिईन । ‘बुलबुलेमा धेरै पात पतिंगरहरु झर्छन ।’ उनले भनिन, ‘खाल्डो खनेर कम्पोष्ट मल बनाए यहिंको बगैंचामा रोपेका विरुवालाई काम लाग्नेछ ।’ मन्त्री केसीले वगैंचाभित्र कम्पोष्ट मल बनाउन खाल्डो समेत खनेकी छिन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सामाजिक विकास मन्त्री दल रावल, कृषि, भुमिसुधार मन्त्री विमला केसी, पर्यटन मन्त्री नन्दसिंह बुढा, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खड्कसिंह खत्रीलगाएतले बुलबुले ताल र उद्यानको सरसफाई कार्यक्रम गरेका छन् । हातमा कुचो, बेल्चा तथा अन्य औजारसहितको टोलीले बुलबुले ताल र बगैंचाको सफाई गरेको हो ।
प्रकाशित मिति: १५ चैत्र २०७४, बिहीबार १४:४७