काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, प्राथमिकता र भावी योजनाबारे नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाहरुलाई बिफ्रिङ गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारहरुलाई पहिलो पटक बोलाएर सरकारको नीति, प्राथमिकता र भावी योजनाबारे बिफ्रिङ गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसमा साथ दिन अन्तराष्ट्रिय समुदायसँग आह्वान गरे । मुलुकको वृहत्तर हितमा साथ दिन प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय समूदायलाई आह्वान गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नेपालको छवीलाई समावेशी लोकतान्त्रिक राज्यको रुपमा संसारभर फैल्याउने भन्दै त्यसमा साथ दिन पनि नेपालस्थित कुटनीतिक नियोगसँग आग्रह गरे । उनले ‘सबैसँग मित्रता’ नेपालको विदेश नीतिको मुख्य आधार रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्ने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपाललाई विकसित, समृद्ध र सामाजिक न्यायसहितको राष्ट्रको रुपमा स्थापित गराउन साथ पनि सबै अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराए । दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझै सुमधुर बनाउने कुरालाई पनि प्रधानमन्त्रीले जोड दिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकारका ६ बुदे मुख्य प्राथमिकताको पनि चर्चा गरेका थिए । जस अनुसार राष्ट्रियता, लोकतन्त्रप्रतिको निष्ठा, दिगो शान्ति र समृद्धिका लागि सामाजिक न्याय, स्थिरता, सुशासन र ‘सुःखी नेपालीः समृद्ध नेपाल’ रहेका छन । नेपाली जनताको चाहना अनुसार राष्ट्रियतालाई बलियो बनाउने प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले सामाजिक न्यायसहितको समृद्धि सरकारले लक्ष्य भएको पनि कूटनीतिक नियोकका प्रमुखहरुलाई जानकारी गराए । उनले समृद्धिका लागि सुशासन चाहिने पनि बताए । प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको अविचलित अडानमाथि शंका नगर्न पनि अन्तराष्ट्रिय समूदायलाई आग्रह गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरु र विकास साझेदारहरुलाई एकै ठाउँ बोलाएर नेपालको भावी योजनाबारे विफ्रिङ गरेका हुन् । परराष्ट्र मन्त्रालयले संयोजन गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलवार १७:२०