काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई नहेप्न युरोपियन युनियनलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको गरिबीलाई लिएर जे पनि गरेहुन्छ भन्ने मासिकताबाट युरोपियन युनियनले नेपालको सार्वभौम सत्ता र प्राप्त उपलब्धिलाई अवमुल्यन र हेप्ने काम गरेको बताए । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको सुझाबलाई लिएर सर्वत्र आलोचना भईरहेको छ । आईतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले नेपाललाई अण्डरस्टिमेट नगरि आफ्नो प्रतिवेदन सच्याउन युरोपियन युनियनलाई सचेत गराए ।
प्रतिवेदन सच्याउन गरेको आग्रहलाई अस्वीकार गर्दै यथावत राख्ने वक्तव्य निकाल्नुले नेपाललाई अण्डरमाइण्ड गरेको महसुस आफुले गरेको उनले बताए । प्रधानमन्त्री ओलीले नेपाली जनताको लोकतन्त्र प्रतिको सजगता निकै राम्रो भएको भन्दै नेपालकै जस्तो समानुपातिक समावेशी तथा महिला प्रतिनिधित्व गराएर देखाउन चुनौति दिए । उनले निर्वाचन अनुगमनको नाममा गर्न लागिएको धर्म प्रचारलाई रोकेको प्रतिशोध प्रतिवेदनमा देखाइएको दाबी पनि गरे ।
उनले भने “निर्वाचन पर्यवेक्षणको नाममा आएर धर्म प्रचार गर्ने होइन, धर्म प्रचार गर्ने काम हुन नदिन केहीलाई फिर्ता पठाइएको हो, त्यसको प्रतिशोध प्रतिवेदनमा लिने होइन । प्रतिवेदन प्रतिवेदन हुनुपर्छ ।” युरोपेली युनियनको प्रतिवेदनले आफ्नो चित्त दुखाएको भन्दै प्रधानमन्त्री ओलीले सुधार्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको भुमिकाको पनि चर्को आलोचना गरे । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव पनि उपस्थित कार्यक्रममा उनले निर्वाचनका समयमा आयोगले गरेको क्रियाकलाप प्रति तिखो टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आयोगलाई शक्ति सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिए ।
प्रधानमन्त्री ओलीले निर्वाचन सम्पन्न गराएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र अदालतलाई धन्यवाद दिए ।
प्रकाशित मिति: ११ चैत्र २०७४, आईतवार १४:५५