काठमाडौं, १० चैत । सरस्वती ज्ञवालीको लालटिनको उज्यालोमा आत्मकथा सार्वजनिक भएको छ ।
शनिबार राजधानीमा एक समारोहका बीच लालटिनको उज्यालोमा सार्वजनिक गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सांसद वृन्दा पाण्डे, प्रधानमन्त्री पत्नी राधिका शाक्य तथा लेखक सरस्वतीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
कृर्ति विमोचन समारोहमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतको उपस्थिति थियो । सामान्यतया पुस्तक विमोचनका समयमा मन्त्रीहरु ड्यासमा र अन्यलाई दर्शक दिर्घामा बसाउने गरिन्छ । यस पुस्तक विमोचनमा थममाया थापा बाहेक सबै पुरुष मन्त्री दर्शक दिर्घामा राखिएको थियो । कार्यक्रममा लेखिका सरस्वतीले कलमको मसिले नभई आत्माको आंसुले आत्मकथा लेखिएको बताइन् ।
अपाङ्ग सन्तानको अभिभावकलाई मात्रै पीडा थाहा हुने भन्दै उनले अपाङ्ग र तीनका परिवारका लागि सरकारले केही व्यवस्था गर्नुपर्ने तर्फ उपस्थित मन्त्रीहरुको ध्यानाकर्षण गराइन् ।
पञ्जायति शासन विरुद्धको आन्दोलनमा सक्रिय हुँदाको पीडा, जागिरका सिलसिलामा राजनीतिक खिचातानीका कारण आफुले भोगेको सास्ती, अनि अपाङ्ग छोरी जन्मिदाको पीडाको साथै उसको हेरचाह लगायतका अनुभव किताबमा समावेश छन् । लालटिनको उज्यालोमा एउटी महिलाको आत्मकथा मात्रै नभई तात्कालिन सामाजिक राजनितिक विषयको उजागर गरिएको छ ।
लालटिनको उज्यालोमा सरस्वती ज्ञवालीका आफ्नो राजनीतिक यात्रा, जागिरे जिवन र समग्र तात्कालिन अवस्थामा झेल्नु परेको पिडा र व्यथाहरु लिपिबद्ध छन् । पारिवारिक जिम्मेवारी, जागिरे भुमिका र संगठनको इमान्दार कार्यकर्ताको भुमिका एकसाथ निभाउने क्रममा भोगेका तिता मिठा अनुभवलाई उनले विभिन्न शिर्षकमा समावेश गरेकी छन् ।
असल श्रीमती, कुशल गृहणी अनि जिम्मेवार र कर्तव्यनिष्ठ आमाको कथा पनि यसमा पाईन्छ । एउटा जागिरेको कथा । स्वाभिमानी महिलाको कथा । क्षमतावान र सक्षम भएपनि श्रीमान्को प्रगती र उन्नतीका लागि एक कदम पछि बसेर सहयोग गर्ने सहयात्रीको कथा लालटिनको उज्यालोमा पाईन्छ ।
आत्मकथामा बाल्यकाल, विवाह, राजनीतिमा योगदान र सक्रियता, अन्दोलनमा लागेको समय, जागरिको अनुभव, पारिवारिक जिम्मेवारी र राजनीति संग संगै लैजादाका विषयलाई विभिन्न २८ वटा शिर्षकमा लिपिबद्ध गरिएको छ । २ सय ४४ पृष्ठको यो कृति अक्षर क्रिएसन्स नेपालले प्रकाशन गरेको हो ।
प्रकाशित मिति: १० चैत्र २०७४, शनिबार १८:०९