सुर्खेत, ९ चैत । कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई लगानीमैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशको आर्थिक कार्यविधि विद्येयकका बारेमा जानकारी दिदै कावा मुख्यमन्त्री ज्वालाले सो कुरामा प्रतिवद्धता जनाएका हुन् ।
कावा मुख्यमन्त्री ज्वालाले कर्णाली प्रदेश गरिब प्रदेश भएकाले आर्थिक स्रोत जोहो गर्नका लागि कर्णाली प्रदेशमा बाह्य पर्यटक भित्र्याउने योजना रहेको विचार व्यक्त गरे । उनले कर्णाली प्रदेश पर्यटनका लागि उचित ठाउँ भएको भन्दै रारा महोत्सवको आयोजना गर्न लागिएको बताए ।
कावा मुख्यमन्त्री प्रकाश ज्वालाले आर्थिक कामकारोबारमा हुने गोलमाल नियन्त्रणका लागि विद्युतीय लेखा प्रणाली हुनुपर्ने कुरामा जोड दिए । उनले कर्णाली प्रदेशमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना हुनुपर्ने बताए ।
आर्थिक कार्यविधि विद्येयकका मुख्य कारणहरुको बारेमा जानकारी दिदै कावा मुख्यमन्त्री ज्वालाले प्रदेश सञ्चित कोष वा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा निकासा तथा खर्च गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने, आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउने, आन्तरिक तथा अन्तिम लेखा परिक्षण गर्ने गराउने, बेरुजु फछर्यौट तथा असुल उपर तथा तहसिल गर्ने गराउने विषयमा मार्ग दर्शन गरी प्रदेश आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने गराउने व्यवस्थाको प्रस्तुत विद्येयक तर्जुमा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कावा मुख्यमन्त्री ज्वालाले दफा ५ मा बजेट तर्जुमा गर्नु अघि त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने, दफा १२ मा विनियोजन विद्येयक तयार गर्ने, प्रदेश अर्थमन्त्रीले प्रत्येक वर्ष असार महिनाको १ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि राजश्व र व्ययको अनुमान प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।
साथै उनले विद्येयकको दफा २२ मा प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको अतिरिक्त विनियोजन, राजश्व धरौटी, प्रदेश सरकारलाई नेपाल सरकारबाट प्राप्त हुने वैदेशिक अनुदान, ऋण सहाता, लगानी र अन्य कारेबारको एकीकृत लेखा तयार गरी राख्नुपर्ने लगायतका व्यवस्था गरेको जानकारी दिए ।
प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार १७:२९