सुर्खेत, ५ चैत । स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका छन् । वीरेन्द्रनगरमा सोमबार भिएसो नेपालको आयोजनामा भएको कार्यक्रममा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम २ जिल्ला स्तरीय छलफल कार्यक्रमका सहभागीहरुले सो कुरामा प्रतिवद्धता जनाएका हुन् ।

समाजमा अझैपनि बिभिन्न कारणले बालविवाह मौलाउदै गएको भन्दै यसलाई रोक्न अभियान चलाउने कार्यक्रमका सहभागिहरुले बताए ।
कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बालविवाहले महिलाको समग्र जीवनमा पार्ने प्रभावका बारेमा स्वयम् किशोरकिशोरीलाई जानकारी गराएर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिने बताए । उनका अनुसार उमेर नपुगी आमा बन्दा त्यसले प्रजनन स्वास्थ्यमा पारेको असरले महिलामा मानसिक असर समेत पारेको छ । गाउँपालिकाका अध्यक्ष बस्नेतले कानुन भएर पनि यस कार्यलाई रोक्न नसकिएको गुनासो गरे ।
कार्यक्रममा लेकबेशी नगरपालिका ९ का वडाअध्यक्ष मानबहादुर खडलु मगरले नगरपालिकााभित्र बालविवाह हुन लागेको कुरा थाहा पाउने बित्तिकै रोक्ने र बालविवाह गरिएको कार्यक्रममा सहभागि भएर भोज पनि नखाने प्रतिवद्धता जनाएका छन् । साथै उनले आवश्यक परेको खण्डमा बालविवाहको भोजमा सहभागी हुनेलाई समेत कार्बाहीको दायरामा ल्याइने चेतावनी दिए ।
यस्तै भेरीगंगा नगरपालिका १२ का वडाअध्यक्ष हरिप्रसाद खरेलले बालविवाह न्यूनिकरणका लागि जनचेतना फैलाउँदा पनि अझै न्यूनिकरण हुन नसकेको गुनासो व्यक्त गरे । उनले बालविवाह रोक्नका लागि किशोर किशोरीहरुलाई उचित शिक्षा उपलब्ध गराउनुपने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बालविवाहका कारण महिलाहरु नै बढी पीडित भएको र बालविवाह रोक्ने अभियानमा किशोरी र महिलाको सक्रिय सहभागीता हुनु आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा भिएसो नेपालका अनुगमन तथा सञ्चार संयोजक प्रियंका बुढाथोकीले कार्यक्रमको उद्देश्य, भिएसो नेपाल र परियोजनाको बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा बालविवाह गर्दा हुने समस्याका बारेमा अन्तरक्रियात्मक नाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहका अध्यक्ष, वडा अध्यक्ष, सरोकारवाल र विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो भने ग्लोबल एक्शन नेपालका संयोजक राजेश गिरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति: ५ चैत्र २०७४, सोमबार १७:२०