काठमाडौं, ४ चैत । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४को कार्यान्वय गर्न सबै स्थानीय तहलाई आदेश दिएको छ ।
आयोगले संघीय सविधान अनुसार स्थानीय सरकारलाई सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नागरिकलाई सूचनाको हक प्रत्याभुति गराउन निर्देशन दिएको हो ।
पत्रकार तारानाथ दाहालले स्थानीय तहबाट सूचना पाउन नसकेको भन्दै आयोगमा गरेको पुरावेदनमा आयोगले ७ सय ५३ वटै स्थानीय निकायलाई सूचना उपलब्ध गराउन आदेश दिएको हो ।
दाहालले मागेको सूचना सूचनाको हक सम्बन्धी ऐन २०६४को दफा ३ को उपदफा ३ ले प्रवाह गरिने छैन भन्ने व्यवस्था भित्र पर्ने नदेखिएको भन्दै आयोगले स्थानीय निकायका सूचना अधिकारी र कार्यालय प्रमुखका नाममा ७ दिन भित्र पुनरावेदकलाई सूचना दिनु भन्ने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ “सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ मा नेपाली नागरिकलाई सूचनाको हक हुने र सोही ऐनको दफा ३ को उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने व्यवस्था गरेको छ । ऐनको दफा ३ को उपदफा ३ ले केही सूचना प्रवाह गरिने छैन । तर पुनरावेदकको माग गरेको सूचना सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा ३ ले प्रवाह गरिने छैन भन्ने व्यवस्था भित्र पर्ने देखिदैन । अतः पुनरावेदकले माग गरेको तपसिलको सूचना पुनरावेदकलाई सात दिन भित्र उपलब्ध गराउनु भनी स्थानीय निकायका कार्यालय प्रमुख र सूचना अधिकारीको नाममा यो आदेश जारी गरिएको छ । ”
परिवर्तित राज्य संचालनको व्यवस्थामा सिमित साधन स्रोतले परिस्थिति असहज भएपनि आयोगको प्रादेशिक संरचना नभएकाले केन्द्रबाट नै सूचना दिनु भनि आदेश सहितको पत्राचार गरिएको प्रवक्ता तिम्सिनाले बताइन् ।
सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक निकायले २० प्रकारका सूचनालाई तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । पत्रकार दाहालले स्थानीय तहको सूचना अधिकारीको नाम, पद, कोठा नम्बर लगायत १८ वटा विषयमा सूचना माग गरेका थिए । ७ सय ५३ वटै स्थानीय तहमबाट सूचना नपाएपछि उनले आयोगमा पुनरावेदन दिएका हुन् । आयोगको पत्राचार संगै सबै स्थानीय तहले निवेदकलाई सूचना दिनुपर्ने छ ।
आयोगमा विशेष गरेर ठेक्का पट्टा, आर्थिक हिसाब किताब, स्वास्थ्य लगायत विषयमा सुचना नपाएको भन्दै पुनरावेदन पर्ने गरेका छन् । पुनरावेदनमाथि गरिएका फैसलाहरुमा ९५ दशमलब ५ प्रतिशत कार्यान्वयन भएको दावी आयोगको छ ।
प्रकाशित मिति: ४ चैत्र २०७४, आईतवार १६:४२