काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदका लागि नन्दबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसंगै पुनले शनिबार संघिय संसद भवन नयाँवानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता पछि उनले ठूलो त्याग र बलिदानपछि आफुलाई दोश्रोपटक उपराष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा खुसी लागेको बताए । उनले उपराष्ट्रपति पदमा आफ्नो अन्तिम निर्वाचन भएको पनि बताए ।
आफ्नो अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको बताउँदै पुनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताए । उनले आगामी दिनिमा पनि राष्ट्रिय सार्वभौमिकता अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए ।
उनले नेपालको संविधानमा व्यवस्थ भएअनुसार नै आफू दोश्रोपटक उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको बताए । पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा रहेका छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ति, जयपुरी घर्ति, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गौतम छन् ।
निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि शनिबार दिउँसो २ बजेसम्मका उम्मेदवारी दर्ता र आगामी ९ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध हुने निश्चत छ ।
प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार १५:११