काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका छन् । .
प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह एमाले र माओवादी केन्द्रलाई समेटेर मन्त्रीपरिषदलाई पुनः विस्तार गरेका हुन् । विस्तारित मन्त्रीपरिषदमा एमालेका प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रविन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार र शेरबहादुर तामाङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका हुन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले एमालेका जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादी केन्द्रबाट गिरीराजमणि पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी वर्षमान पुनलाई उर्जा मन्त्री बनाइएको छ । माओवादीबाट शक्ति बस्नेत वन मन्त्री, विना मगर खानेपानी तथा सरसफाई मन्त्री र चक्रपाणि खनाललाई कृषि मन्त्री मन्त्री बनाइएको छ ।
त्यसैगरी गोकुल बास्कोटलाई सूचना तथा संचार राज्य मन्त्री, पदमा अर्याललाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री र रामकुमारी चौंधरीलाई कृषि राज्यमन्त्री बनाइएको छ । थपिएका सबै मन्त्रीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । शुक्रबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा एक कार्यक्रमका बीच राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त सबै मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपनि नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री भएलगत्तै उहाँले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । त्यसको हस्ता दिन पछि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई पनि समेटर चार जना मन्त्रीहरु थप गरेका थिए । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।
प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार २२:३६