चितवन, २ चैत । चितवनका एक युवा उपचार नपाएपछि आफ्नै घरभित्र फलामको खोरमा बस्न विवश भएका छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिका १ स्थित गणेश चोकका शिवराम भुसाल उपचारको अभावमा आफ्नै घर भित्र फलामको खोरमा बस्न बाध्य भएका हुन् । २९ वर्षीय शिवरामको उपचार नभएपछि ६ महिनायता फलामको खोरमा राख्नुपर्ने अवस्था आएको आमा जया भुसालले जानकारी दिईन् ।
जन्मजातनै सुस्त मनस्थिति भएका उनको मानसिक सन्तुलन समेत ठिक नभएपछि ६ महिना अघिबाट खोरमा राखेर हेरचाह गर्न परिवार बाध्य भएको हो । त्यसअघि उनलाई घरको खाटमा डोरीले बाँधेर राख्ने गरिएको आमा जयाले जानकारी दिईन् । उनलाई अहिले घर बाहिरको काममा जाने बेला फलामको खोरमा थुन्नुपर्ने अवस्था छ । घरमै बसेका बेला भने खुला रुपमै छोडने गरिएको पनि परिवारले जनाएको छ ।
शिवराममा कुनै पनि कुराको होस् हुँदैन । दिसापिसाव आएको पत्ता नहुने र शरीरमा लगाइएको कपडा पनि च्यातेर फाल्ने भएकाले उनलाई हेरचाह गर्न परिवारलाई सकस भएको छ । सानैमा निमोनिया भएकाले छोराको यस्तो हाल भएको आमा जयाको बुझाई छ ।
शिवरामलाई एक्लै छोडने अवस्था नरहेको पनि परिवारले जनाएको छ । घरमा शिवरामको बुवा, आमामात्रै रहेका छन् । बुबा विद्यालयमा पढाउन गएपछि आमा जयाले शिवरामलाई फलामको खोरमा राखेर घरको काम गर्नुपर्ने बाध्यता छ । शिवरामलाई उचित उपचारको व्यवस्था गरिदिन सरकार र संघ, संस्थाहरुसँग परिवारले आग्रह गरेको छ ।
राम्रो औषधि उपचारको व्यवस्था भए शिवराम निको हुने आम जयाले विश्वास व्यक्त गरिन् । अहिले शिवरामलाई दिउँसो फलामको खोरमा राख्ने र बेलुका घर भित्र लगेर सुताउने गरिएको छ ।
प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार १३:२२