सुर्खेत, ३० फागुन । डाक्टरी पेशा आफैमा पनि बेफुर्सदिलो । दिनरात नभनि विरामीको सेवामा तल्लिन र संधैको व्यस्तता । व्यस्तताका वाबजुद पनि आफ्नो क्षमतालाई विपन्न र असहाय बालबालिकाका लागि समय खर्चिने अभियानमा जुटेका छन्, सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी ।
डा. केसी हरेक शनिबार समय निकालेर सुर्खेत जिल्लाका विपन्न, असहाय बालबालिकाहरु भएको ठाउँमा पुग्छन् ता की उनले ती बालबालिकाहरुलाई उपचार सँगै कपडा वितरण गर्न सकुन । डा. केसी जिल्लामा रहेका कुनैपनि बालकालिका उपचार र न्यानो कपडाबाट बन्चित हुन नपरोस् भन्ने अभियानमा जुटेका छन् ।
डा केसीले बालबालिकाहरुमा क्यान्सर, मुुटु रोग जस्ता अन्य डरलाग्दा रोगहरुको सिकार नबनुन् भन्दै यसका बारेमा खोजीनीति गरिने र उनिहरुको उपचार गर्ने प्रमुख उद्देश्य रहेको बताए । डा केसी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समेत कार्यरत छन् ।
डा. केसीले विगत ४ महिनादेखि न्यानो सुर्खेत अभियान चलाउँदै आएका हुन् । उनले अभियान सञ्चालन बाढी प्रभावितहरु बस्ने गिरीघाट, लेखगाउँ, तरङ्गा लगायत गरी ७ वटा ठाउँका बालबालिकालाई उक्त सेवा प्रदान गरे ।
कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई लक्षित गरी ‘न्यानो सुर्खेत’ अभियान सञ्चालन गरेका डा. केसीले अभियानमार्फत जिल्लाका गरिब बालबालिकाको सहयोगलाई निरनतता दिइरहेका छन् ।
हरेक शनिबार बालबाललिकाका लागि विशेष कार्यक्रम बनाउने डा. केसीले आउँदो शनिबार बड्डीचौरमा शिविर सञ्चालनसंगै न्यानो कपडा वितरण गरिने जानकारी दिए । उनले सञ्चालन गरेको अभियानमा हालसम्म करिब २५ हजार सहयोग भएसँगै करिब ३ लाख खर्च भइसकेको जानकारी दिए ।
विशेष गरी टुहुरा तथा आमाबाबुको निगरानीमा नरहेका बालबालिकाका लागि उक्त अभियान सञ्चालन गरिएको केसीले जनाए । विंग्स फाउन्डेशन नेपालको संस्थापक अध्यक्ष समेत रहेका केसीले यस अभियानका लागि आफ्नो मासिक तलबबाटै केही रकम खर्च गर्दै आएका छन् ।
फाउन्डेशनले असहाय तथा अति विपन्न भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य उपचार तथा शैक्षिक सामग्री र कपडा समेत वितरण गर्दै आएको छ । उनले भने ‘सुर्खेतका प्रत्येक वडाका बालबालिका कस्तो अवस्थामा बाँचिरहेका छन् भन्ने तथ्याङ्क संङ्कलन गर्न पनि सहयोग पुग्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।’
डा केसीले न्यानो सुर्खेत अभियान सञ्चालन गरेका विभिन्न ठाउँका बालबालिकाहरुमा मानसिक समस्या भएको पत्ता लगाएको बताए । उनले अहिले अभियानमा उपचार गरेका बालबालिकाहरुलाई ६ महिना पछि फेरी जाँच गरिने जानकारी दिएका छन् ।
प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार १६:३९