काठमाडौं, २६ फागुन । सरकारले पश्चिमसेती जलविद्युत आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न एक प्राविधिक अध्ययन टोली बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा शुक्रबार बसेको लगानी बोर्डको बैठकले पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न एक प्राविधिक टोली गठन गरेको हो ।
सो आयोजनामा देखिएको समस्याबारे अध्ययन गर्न गठन गरिएको टोलीलाई एक महिना भित्र आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । प्राविधिक समितिमा लगानी बोर्ड, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
पश्चिमसेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले विभिन्न सर्त राख्न थालेपछि आएको समस्या समाधान गर्न सरकारले अग्रसरता लिएको हो ।
त्यसैगरी बोर्ड बैठकले उद्योग, उत्पादन, सेवा, यातायात, जलविद्युत, सौर्य उर्जाको विकासका लागि १० वटा परियोजनाहरुको अध्ययन गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ । बोर्डको प्रोजेक्ट बंंैकलाई अघि बढाउने कन्सेप्ट अन्तरगत १० वटा परियोजनाहरुको अध्ययन गर्ने प्रस्तावलाई बैठकले स्विकृत गरेको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
लगानी बोर्डले चीनको हुवासिन सिमेन्टसँग लगानी सम्झौता गर्ने जिम्मेवारी सरकारलाई दिएको छ । बैठकले विकासकर्ताको खर्च व्यवस्थापन गर्ने गाईडलाइन पनि स्विकृत गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले विकास कर्ताको खर्च व्यवस्थापन गर्न सो सम्बन्धि गाइडलाइन स्विकृत गर्नु परेको स्पष्ट पारे ।
प्रकाशित मिति: २६ फाल्गुन २०७४, शनिबार ०८:१८