सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई अपाङ्गमैत्री र महिलामैत्री बनाउने घोषणा गरेका छन । मुख्यमन्त्री ज्वालाले विहिवार वीरेन्द्रनगरमा भएको १०८ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा सो कुराको घोषणा गरेका हुन् । उनले कर्णाली प्रदेशका पिछडिएका महिला तथा बालबालिका, पिछडिएका समुदायका लागि सोच्ने समय आएको छ भन्दै उनिहरुका अधिकारका लागि प्रदेश सरकारले हेर्ने बताए ।
मुख्यमन्त्री ज्वालाले प्रदेश सरकारमा मात्रै नभएर अहिले मुलुकमा महिलाहरुको ३३ प्रतिशत सहभागिता भएको भन्दै अझै उनिहरुलाई ५० प्रतिशत भन्दा बढी सहभागिता दिइने प्रतिवद्धता जनाए । पहिले चुलोचौकोमा मात्रै सिमित हुने महिलाहरु अहिले आएर हरेक कुरामा ३३ प्रतिशत सहभागिता जनाएको भन्दै मुख्यमन्त्री ज्वालाले महिलाहरुको संघर्षको फलकोे संज्ञा दिएका छन् । उनले कर्णाली प्रदेशलाई सुन्दर र समृद्ध गराउनका लागि आफु तत्परताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
सामाजिक विकास मन्त्री दल रावलले २००७ साल यता महिलाहरु आत्मसातका साथ अघि बढिरहेको बताए । मन्त्री रावलले महिलाहरुका अधिकारलाई सुनुश्चित गर्नका लागि प्रदेश सरकारले आफ्नो दायित्व पुरा गर्ने जनाए । उनले अबको ११५ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाईरहेका बेला महिलाहरु शिक्षा, स्वास्थ्य, आर्थिक र राजनीतिक कुराहरुमा अब्बल सहभागिता जनाउने विश्वास व्यक्त गरे । दलित, गरिबी, निरक्षर र पिछडिएका महिलाहरुलाई कसरी परिवर्तन गर्ने भन्नेबारेमा योजनावद्ध तरिकाले अघि बढ्ने सामाजिक मन्त्री रावलले जनाए ।
सांसद सीता नेपालीले प्रदेश स्तरमा महिलाहरुका लागि कानुनको व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छन् । उनले सामाजिक रुपान्तरणका लागि आर्थिक सशक्तिकरणको आवश्यकता रहेको भन्दै कर्णाली प्रदेशका विकासका लागि महिलाहरुको पनि समृद्धि र विकास हुन जरुरी रहेको बताइन् ।
प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले पछिल्लो समयमा हरेक कुराहरुमा महिलाको राम्रो सहभागिता भएको भन्दै महिलाको भुमिका प्रंशसनिय भएको बताए । महिलाहरुले पनि पुरुष सरह काम गर्न सक्छन् भन्दै महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । उनले सरकारमा मात्रै नभएर प्रदेश सरकारमा पनि महिलाहरुको सहभागिता भएकाले महिलाले पनि पुरुष सरह काम गर्न सक्छन भन्ने चुनौती दिएको बताए ।
नगरप्रमुख देवकुमार सुवेदीले महिला मुक्तीका निम्ति आजको दिन निकै महत्वपुर्ण रहेको भन्दै महिला मुक्तीका लागि आफ्नो घरमा आमा, छोरी, बुहारीलाई कतिको अधिकार दिन सकेका छौ भन्ने कुरामा स्पष्टिकरण हुने बताए । उनले भाषणमा र कुरामा मात्रै महिला अधिकारका कुरा गरेर नहुने भन्दै व्यवहारमा उर्तान जरुरी रहेको बताए ।
कार्यक्रमका सभाअध्यक्ष तथा नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले महिलाहरु चुलो चौकोमा मात्रै सिमित नभएर आफ्नो अधिकारको सहि सदुपयोग गर्ने बताएकी छन् । उनले महिला अधिकारका हक र अधिकारका लागि महिलाहरु स्वयम आफु सक्षम हुनुपर्ने कुरामा जोड दिइन् ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाल महिला संघ सुर्खेतकी सभापति पार्वती गिरी, सामाजिक संस्थाको तर्फबाट आवाज संस्थाकी पवित्रा शाही लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा १०८ औँ अन्तराष्ट्रिय महिला श्रमीक दिवसका अवसरमा भएको खेलमा पुरुस्कार वितरण, गित, कविता, नाटक र नृत्य प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहीबार १७:२८