काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले न्यायलयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन उद्त रहेको भन्दै त्यसको प्रतिकारमा उत्रन महिला संघलाई निर्देशन दिएका छन् ।
एक सय आठौ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले विहिबार केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दे नियन्त्रण जमाउन खोजेको बताएका हुन् ।
आफ्नो अनुकुलतामा राज्य संयन्त्रलाई प्रयोग गर्नका लागि सरकारले न्यायलयलाई समेत धम्क्याउन थालेको देउवाले दावी गरे । सरकारका हस्तक्षेपकारी क्रियाकलापको शसक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन पनि देउवाले संघलाई निर्देशन दिए ।
महिला आरक्षण र राज्यका सबै निकायमा पहुँच पुर्याउने सवालमा राष्ट्रपति उपराष्ट्रपति, सभामुख उपसभामुख मध्ये एक महिला हुनै पर्ने संबैधानिक व्यवस्था गरिनु निकै राम्रो सुरुवात भएको सभापति देउवाले बताए । त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभामा महिलाको ३३ प्रतिशत सिट प्रत्याभुत गरिनुलाई पनि महिला अधिकारको उपलब्धी ठान्नुपर्ने उनको भनाई थियो ।
मंगलादेवी सिंह, नोना कोइराला, शैलेजा आचार्य लगायत नेतृले पुर्याएको योगदानको स्मरण गर्दे सभापति देउवाले महिला संगठनलाई बलियो बनाउन सुझाव दिए । महिला हक अधिकार स्थापित गराउने सवालमा नेपाल महिला संघको ऐतिहासिक महत्व रहेको भन्दै उनले संघलाई देशभरका महिलाको प्रतिनिधिमुलुक संस्थाको रुपमा स्थापित गराउर्नेमा जोड दिए ।
प्रकाशित मिति: २४ फाल्गुन २०७४, बिहीबार १५:३८